नुवाकोट आएर मधेसका पूर्व प्रदेश प्रमुखले ४३औं पटकको रक्तदान गरे

  • त्रिशूली प्रवाह
  • १४ चैत्र २०८०, बुधबार १४:१९
  • रिना खनाल

कोलोनी, मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले ४३औं पटक रक्तदान गरेका छन् । नुवाकोटको कोलोनीस्थित जिल्ला अस्पतालमा शुक्रबार उहाँले ४३औं पटक रक्तदान गर्नुभएको हो ।

नुवाकोट जस्तो पवित्र भुमिमा आएर रगत दिनु पवित्र कार्य गर्न पाएको भन्दै जीवनमा एकपटक रक्तदान गर्न उहाँले सबैलाई अनुरोध गर्नुभएको छ । गत २०६१ सालमा आन्दोलनकारी र सुरक्षाकर्मीबिच दैनिकजसो दोहरो झडप भईरहेको अवस्थामा घाइतेलाई रक्तदान गरेर शुरूवात गर्नुभएको थियो । जिल्ला तथा समाजका अगुवाले रक्तदान गर्दा सर्वसाधारणलाई राम्रो सन्देश जाने र उनीहरुलाई पनि रक्तदान गर्न प्रेरित हुने र रक्तदानले आफ्नो स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएको कारण झण्डै २० वर्षअघिदेखि रक्तदान शुरू गरेको उनको भनाई छ ।
रक्तदानपछि मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेशले ऐतिहासिक धरोहर पृथ्वीनारायण शाहप्रति नुवाकोटका स्थानीय तहले बेवास्ता गरेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै, “पृथ्वीनारायणको शालिक र समाधीस्थल देविघाटमा जाँदा आफुलाई पिडा बोध भएको र जसले नेपाल र नेपाली भन्ने पहिँचान दिए उनैलाई उपेक्षा गरेको उल्लेख गरेका छन् । “ सो स्थानमा बिजुली, पानी, रंगाउनु, सरसफाई गर्नु, बगैंचा बनाउनेलगायतको कार्यतिर ध्यान दिनुपर्ने औल्याएका छन् । स-साना आकारमा छरिएका रहेका बाईसे–चौबिसे राज्यलाई गोरखा राज्यअन्तर्गत ल्याउने अभियान चलाएका पृथ्वीनारायणलाई कतिपयले राष्ट्रिय एकताकर्ता मान्छन् भने कपितयले राज्य बिस्तारक । उनलाई राष्ट्र निर्माता मान्ने नमान्नेबारे मत विभाजित भएपनि पृथ्वीनारायणको योगदान नुवाकोटमा अत्याधिक रहेको उनको बुझाई छ । उनको मृत्यु वि.सं.१८३१ माघ १ गते ५२ वर्षको उमेरमा नुवाकोटको देविघाटमा भएको थियो । उक्त स्थानमा विदुर नगरपालिकाले केही वर्ष अगाडी समाधीस्थल बनाएको छ । पछिल्लो समय जिल्लामा विभिन्न ब्यक्तिको शालिक बनाउने प्रतिस्पर्धा देखिएपनि त्यसको संरक्षणमा भने सरोकारवाला उदासिन देखिएका छन् । जिल्ला रहेका साँस्कृतिक सम्पदा, संस्कार तथा पुर्वाधार जोगाउने कर्तव्य राज्यको मात्र नभएर सम्पूर्ण नेपालीको कर्तव्य रहेको समेत पूर्व प्रदेश प्रमुख डा.राजेशले बताए ।