विदुरको विन्द्रला र गणेश समूहबीच मैत्रीपूर्ण फुटबल

  • त्रिशूली प्रवाह
  • १५ चैत्र २०८०, बिहीबार १२:१२

बट्टार, फागु पूर्णिमाको अवसरमा नुवाकोट जिल्लाको सदरमुकाममा रहेको विदुर सिटी युथ क्लबको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा शनिबार मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । विदुर नगरपालिका–२ र ४ को विदुरमा रहेको विन्द्रला समूह र गणेश समूहबीच भएको मैत्रीपूर्ण फुटबल खेलको पूर्ण अवधिमा दुवै टिमले तीन–तीन गोल गरेको क्लबका स्वास्थ्य तथा खेलकुद संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।

नुवाकोट युनाइटेड फुटबल क्लबको प्राविधिक सहयोगमा भएको खेलको उद्घाटन फुटबल सङ्घका अध्यक्ष देवनारायण चित्रकारले खेलका मुख्य निर्णायक रामकुमार कोइरालालाई बल हस्तान्तरण गरेर गरेका थिए । माथिल्लो र तल्लो विदुरको दुई समूहबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको क्लबका अध्यक्ष सुनील श्रेष्ठले बताए । विदुरवासीबीच फुटबल खेलबाट एक–आपसमा जोड्दै आपसी भाइचारा सम्बन्धको विकास गर्ने र खेलप्रति लगाव भएकालाई समेटेर खेलाडीको उत्पादन गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष श्रेष्ठले बताए । मैत्रीपूर्ण खेल हेर्र्न विदुर नगरपालिका– २ का अध्यक्ष दीपक कायस्थ, ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावललगायतको उपस्थिति रहेको थियो । जिल्लास्तरीय खेलका विदुरका पूर्वखेलाडीसमेतको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल खेलले स्थानीयलाई उत्साह थपेको स्थानीय समाजसेवी राजेन्द्र पाण्डेले बताए । खेलमा नुवाकोट युनाइटेड फुटबल क्लबको प्राविधिक सहयोग रहेको आयोजक क्लबका सचिव प्रदीपकुमार पण्डितले जानकारी दिए ।