सुनको शुद्धता कायम राख्न सके मात्र ब्यवसायप्रति उपभोक्ताले विश्वास बढ्ने

  • त्रिशूली प्रवाह
  • १९ चैत्र २०८०, सोमबार १६:२८

विदुर, नुवाकोट सुनचाँदी ब्यवसायी संघको ११औं वार्षिक साधारणसभा शनिबार वनभोजसहित सम्पन्न भएको छ ।

विदुर नगरपालिका वडा नं.२ को वनदेवी मन्दिर परिसरमा भएको साधारणसभाको उद्घाटन संघका संस्थापक अध्यक्ष तेजबहादुर शाक्यले गर्नुभएको थियो । संघका अध्यक्ष भिमराज बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार एवं नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले सुनको शुद्धता कायम राख्न सके मात्र ब्यवसायप्रति उपभोक्ताले विश्वास बढ्ने बताउनु भयो । सुन नेपाली समाजमा जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक पर्ने भएकोले सुन महङ्गो भएपनि कारोबार भईरहेको उहाँले बताउनु भयो । सो कार्यक्रममा नुवाकोट सुनचाँदी ब्यवसायी संघका सल्लाहकार रतनकाजी बज्राचार्यले सुनको कारोबार गर्दा बिल दिने र सुन खरिद गर्दा बिल हेरेर लिने गरेमा अनावश्यक झै–झमेला ब्यहोर्नु नपर्ने बताउनु भयो । सुन महँगो भएकोले नक्कली कारोबार बढी हुने भएकोले ब्यवसायीलाई सजग हुन समेत उहाँले सुझाव दिनुभयो ।

संघका सचिव सबिन अमात्यले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष रमेश विश्वकर्माले प्रस्तुत गर्नुभएको आय–ब्यय बन्दसत्रमा छलफलसहित पारित भएको उपाध्यक्ष प्रदिप शाक्यले बताउनु भयो । संघ २०५३ सालमा स्थापना भएको भएपनि २०७९ सालमा मात्र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उहाँले बताउनु भयो । संघमा हाल ४२ जना सदस्य आवद्ध रहेका छन् । संघले नुवाकोटमा प्राप्त सुनको कोटाअनुसार वाणिज्य बैंकले हप्तामा एक केजी सुन दिईरहेको विगतमा अपुग भएपनि अहिले सुनको बजार सुस्त रहेकोले बढी हुने गरेको अध्यक्ष भिम बज्राचार्यले जानकारी दिनुभयो । संघले सुन खरिद, बिक्रीको मूल्य निर्धारण गर्ने, ज्यालाजर्ति एकरूपता कायम गर्ने गरेको र समय–समयमा ब्यवसायीलाई खरिद, बिक्री र कर तथा भ्याट कारोबार सम्बन्धी सूचनामूलक अन्र्तक्रिया गर्ने गरेको समेत उहाँले बताउनु भयो ।