पूर्व राष्ट्रपतिको उपस्थितीमा क्षेत्रपाल मा.वि.को स्वर्ण महोत्सव सम्पन्न

  • त्रिशूली प्रवाह
  • २० चैत्र २०८०, मंगलवार १७:४४

लिखु, नुवाकोट जिल्लाको लिखु गाउँपालिका चौघडाको क्षेत्रपाल माध्यमिक विद्यालयले माध्यमिक तह स्थापनाको स्वर्ण महोत्सव मनाएको छ । स्वर्ण महोत्सव समारोह विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राईको अध्यक्षता र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ ।

पानसमा दिप प्रज्ज्वलन गर्दै विद्यालयका संस्थापक तथा जग्गादाताको तस्विरमा माल्यार्पण गरेर समारोहको उद्घाटन भएको कार्यक्रममा नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत नवनिर्मित २४ कोठे कक्षा–कोठा भवन र विथ लभ अर्गनाइजेशन रसियाको सहयोगमा स्थापित बाल खेल स्थलको समुद्घाटन भएको थियो । उक्त अवसरमा क्षेत्रपाल माध्यमिक विद्यालय र क्षेत्रपाल अलम्नाई एसोसिएशनद्वारा संयुक्तरूपमा प्रकाशित “क्षेत्रपाल स्वर्ण महोत्सव स्मारिका” को विमोचन समेत भएको थियो । स्मारिकाले विद्यालय स्थापनाका बेला संस्थापकले निर्वाह गर्नुभएको भूमिकालाई अभिलेखीकरण गर्नुका साथै विद्यालयको लुकेको इतिहासलाई अभिलेखीकृत गरेको कार्यक्रमका सञ्चालक तथा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुबेदीले बताउनुभयो । कार्यक्रममा क्षेत्रपाल अलम्नाई एसोसिएशनका अध्यक्ष डा.बिक्रम तिमल्सिनासहित सम्पूर्ण पदाधिकारी, पूर्व विद्यार्थी, पूर्व शिक्षक, जिल्लाका संघीय, प्रदेश र स्थानीयस्तरका जनप्रतिनिधी, विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थिती रहेको थियो । स्वर्ण महोत्सवका अवसरमा संस्थापक, जग्गादाता, अक्षयकोषका संस्थापक, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, उच्च प्राज्ञिक सफलता पाउनुभएका पूर्व विद्यार्थी, उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक, खेल क्षेत्रबाट विद्यालयलाई चिनाउनुहुने खेलाडी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि पूर्व राष्ट्रपति डा.यादवले शिक्षा राष्ट्रकै महत्वपूर्ण क्षेत्र भएकाले सबैले मिलेर यस क्षेत्रको उत्थानमा लाग्नुपर्ने र गुणस्तर अभिबृद्धि गर्नुपर्ने सन्देश दिनुभएको थियो । शिक्षक तथा विद्यार्थीको साङ्गीतिक प्रतिभा पनि प्रस्तुत भएको स्वर्ण महोत्सवको अवसरमा साँझ दिपावली समेत गरिएको थियो । जिल्लाकै गौरवमय शैक्षिक इतिहास बोकेको र स्थापनाका दृष्टिले नुवाकोट जिल्लाकै दोस्रो पुरानो माध्यमिक विद्यालय क्षेत्रपाल माध्यमिक विद्यालय शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा जिल्लामै अब्बल पहिँचान बनाउँदै आएको छ ।