आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : पूर्वअर्थमन्त्री लोहनी

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार ११:३३

विदुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा रोजगारको सिर्जना र आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

राप्रपा नुवाकोटले शुक्रबार विदुर नगरपालिका–४ बट्टारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनीले देशको अर्थतन्त्र सुधारका लागि युवा पुस्तालाई रोजगार र कृषि क्षेत्रमा संलग्न गराउने कार्यक्रम समावेश गर्नुपर्ने बताए । आफू अर्थमन्त्री हुँदा आवश्यकताको आधारमा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिएको स्मरण गर्दै अबको दिनमा नयाँ उद्योग, कल–कारखानाको स्थापना, कृषि उब्जनीको वृद्धि र पशुपालनबाट अर्थतन्त्रको सुधार गर्न सरोकारवाला जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । ‘विगतमा भन्दा कृषि उब्जनीमा व्यापक सुधार भए पनि त्यसबाट आत्मनिर्भर बनाउन सकिएको छैन,’ पूर्वअर्थमन्त्री लोहनीले भने, ‘कृषिमा आधुनिकीकरण र यान्त्रीकरणको उपयोग, विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण, स्वदेशमा सीपयुक्त शिक्षा दिएर युवालाई आर्थिक परिवर्तनमा जोड्नुपर्छ ।’ राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीको सभापतित्वमा भएको कार्यक्रममा राप्रपा केन्द्रीय महामन्त्री डा. धवलशमशेर राणाले ‘अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तनका लागि’ सडक आन्दोलनमा रहेको बताए । मुलुकको आर्थिक सुधारका लागि भ्रष्टाचारमुक्त शासकीय व्यवस्थाको निर्माण गर्न राप्रपाले राजसंस्था, हिन्दू धर्म, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, प्रदेश संरचनाको परिवर्तनका लागि सङ्घर्षमा उत्रिएको बताए ।