नुवाकोट काङ्ग्रेसको ‘मुखपत्र मार्गनिर्देश’ विमोचन

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार ११:४८

विदुर, नेपाली काङ्गेस नुवाकोटले पार्टीको मुखपत्रका रूपमा प्रकाशित गरेको ‘मार्गनिर्देश’ पत्रिकाको विमोचन गरिएको छ । काङ्ग्रेस नुवाकोटको सङ्गठन विभागले प्रकाशित गरेको पत्रिकाको शनिबार नेपाली काङ्ग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले विमोचन गरे ।

कार्यक्रममा प्रमुख अतिथि डा. महतले नेपाली काङ्ग्रेसबारे लेखिएका यस्ता पुस्तक गाउँ–गाउँमा पुर्याउनुपर्ने र काङ्ग्रेसबारे जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिए । उनले अघिल्लो सत्तागठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो काम सबै आफूले गरेको र नराम्रो भएका काम अर्थमन्त्रीका कारण नभएको भन्ने आरोप लगाएकोप्रति असन्तुष्टि व्यक्त गरे । नुवाकोट जिल्लाको विकासका लागि आफूले मन्त्री हुँदा धेरै काम गरेको स्मरण गराउँदै काङ्ग्रेसबाट नै आफूले केही गर्न नसकेको प्रचण्डको आलोचनाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । उनले काङ्ग्रेस भएर काङ्ग्रेसका नेता–कार्यकर्ताले एक पक्षले अर्को पक्षलाई गाली गर्नुभन्दा पनि सबै मिलेर काङ्ग्रेस बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।

काङ्ग्रेस नुवाकोटका सङ्गठन विभागका प्रमुख श्रीराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पार्टी सभापति रमेश महतले काङ्ग्रेस मुलुकको ठूलो पार्टी भएको र लोकतन्त्रको रक्षा पनि काङ्ग्रेसबाट हुने भन्दै पार्टीमा एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे । उक्त कार्यक्रममा उपसभापति राजु थापाले काङ्ग्रेसको मुख्य समस्या भनेको पार्टीभित्रको आन्तरिक विवाद रहेको भन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले पार्टीको निर्वाचित संस्थाले कार्यक्रम गर्दासमेत अर्को पक्षले हैसियत खोजेर मान्छे रोक्ने कामसम्म भएको भन्दै आफूलाई हेरेर अर्कोलाई व्यवहार गर्न सुझाव दिए । महासमिति सदस्य चोकराज शाक्यले काङ्ग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले काङ्ग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिए । विदुर नगरपालिकाका मेयर तथा महाधिवेशन प्रतिनिधि राजन श्रेष्ठ, महिला नेतृ बिन्दा अर्याललगायतले पार्टीले प्रकाशित गरेको पुस्तकलाई पार्टीका हरेक तहमा पुर्याउन सके यसले फाइदा हुने सुझाव दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य कृष्ण मिश्रले स्वागत मन्तव्य राखेका थिए भने किताबका लेखक तथा पत्रकार शुकदेव दाहालले पुस्तकका विषयमा बोलेका थिए । कार्यक्रममा पुस्तकका लेखक, टेकनाथ दाहाल, शुकदेव दाहाल, रामशरण थापालगायतलाई सम्मानसमेत गरिएको थियो । अर्धवार्षिक रूपमा प्रकाशित हुने उक्त पत्रिका नियमित रूपमा प्रकाशित हुने र यसले काङ्ग्रेसका गतिविधिलाई समेट्दै जाने पार्टी सचिव वैकुण्ठ मिश्रले बताए ।