एसइई दिँदै वडाध्यक्ष

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार १२:३९

खरानीटार, पढ्ने इच्छा हुँदाहुँदै राजनीतिमा लागेर जनप्रतिनिधि बनेका नुवाकोटको तादी गाउँपालिका–१ का वडाध्यक्ष यसपटकको एसइई परीक्षामा नियमिततर्फबाट सामेल भएका छन् । अध्ययनलाई निरन्तरता दिने उद्देश्यका साथ तादी गाउँपालिका–१ का ४० वर्षीय वडाध्यक्ष नकुरदोङ तामाङले अमरज्योति मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।

इच्छाशक्ति भए शिक्षाको ज्ञान प्राप्त गर्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेका वडाध्यक्ष तामाङले सुन्दरा मावि उर्लेनीबाट एसइई परीक्षाका लागि नियमिततर्फको फर्म भरेका थिए । उनको सिम्बोल नम्बर ०२५०३५६३ रहेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको तादी गाउँपालिका–१ का ४० वर्षीय वडाध्यक्ष नकुरदोङ तामाङ २०७४ र २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेर विजयी भएका हुन् । उक्त विद्यालयबाट वडाध्यक्ष तामाङसहित १३ जना विद्यार्थी एसइई परीक्षामा नियमिततर्फबाट सहभागी भएका छन् । अध्ययनलाई कसैले पनि भागबन्डा गर्नु नपर्ने तथा बौद्धिकस्तरको मापन पनि अध्ययनबाटै हुने भएका कारण आफूले अध्ययनलाई माथिल्लो स्तरसम्म पु¥याउने लक्ष्य रहेको उनले बताए । वडाध्यक्ष तामाङले तादी गाउँपालिका–३ खरानीटारमा रहेको अमरज्योति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिइरहेको केन्द्राध्यक्ष एवम् अमरज्योति माविका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । अहिलेसम्म दिएको पाँच विषयको परीक्षा राम्रै भएको र आफ्नो नतिजा राम्रै आउने वडाध्यक्ष तामाङले बताएका छन् ।