भलिबल प्रतियोगितामा प्रथम हुनेले ३०३३३३ रुपैयाँ पाउने

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार १३:२३

सामरी, नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाको आयोजनामा ‘बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ ।

म्यागङ गाउँपालिका–५ सामरीको मैदानमा आगामी वैशाख ७ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङले जानकारी दिइन् । उनका अनुसार ‘भलिबल खेलाडीको पहिचान तथा प्रवद्र्धन ः खेल, खेलाडी र क्षमताको संरक्षण’को मुख्य नारासहित खेल पर्यटन भित्र्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने पालिकाले तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँ र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष सीता तामाङले जानकारी दिइन् । उनको अनुसार तेस्रो हुने पालिकाले ५० हजार पाँच सय ५५ रुपैयाँ र सान्त्वना पुरस्कार २५ हजार पाँच सय २५ सहित ट्रफी र मेडल राखिएको छ । भलिबल खेलसम्बन्धी प्रचलित नियमअनुसार राष्ट्रिय मान्यताप्राप्त रेफ्रीमार्फत सञ्चालन गरिने प्रतियोगितामा सहभागी हुने पालिकाले तीनजनासम्म पालिकाबाहिरका खेलाडीसमेत समावेश गराउन पाइने नियम आयोजकले बनाएको छ ।

प्रतियोगिताको संयोजक एवम् म्यागङ गाउँपालिकास्तरीय युवा क्लबका अध्यक्ष विजय गुरुङका अनुसार पालिकामा रहेका खेलाडीको क्षमता वृद्धि गराउन र अनुभव साटासाटका लागि समेत सहयोग पुग्ने उद्देश्यले तीनजना देश तथा विदेशका जो–कोही खेलाडीलाई समावेश गराउन पाउने नियम राखिएको हो । प्रतियोगितामा सहभागी हुन बागमती प्रदेशका एक सय १९ वटै पालिकालाई आगामी वैशाख ७ गतेसम्म टिम दर्ताका लागि आह्वान गरिएको छ ।