एसइईमा छात्रा बढी

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार १३:३४

विदुर, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ देखि ७७ वटै जिल्ला र विदेशमा समेत सञ्चालन भइरहेको छ । नुवाकोटमा सञ्चालन भइरहेको एसइई परीक्षामा यसपटक सामुदायिक तथा संस्थागत गरी तीन हजार नौ सय २२ जना विद्यार्थी सहभागी भएका छन् । एसइईमा सहभागी भएका विद्यार्थीमध्ये छात्रभन्दा छात्राको संख्या दुई सय ९५ बढी छ ।

२३ परीक्षा केन्द्रबाट परीक्षामा छात्र एक हजार सात सय ५८ र छात्राको सङ्ख्या दुई हजार ५३ रहेको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले जानकारी दिएको छ । परीक्षा मर्यादित रूपमा सञ्चालन भइरहेको परीक्षामा विद्यार्थीलाई रेस्टिकेट गर्न नपरेको शिक्षा तथा समन्वय इकाइ नुवाकोटकी परीक्षा शाखा प्रमुख सम्झना थपलियाले जानकारी दिइन् । एसइई परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । गत वर्षको परीक्षा केन्द्र रहेको शक्ति मावि यसपटक हटाइएको छ । यसपटकको एसइईका २३ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षार्थी रुक्मणी मावि समुन्द्रटार र सबैभन्दा कम ज्ञानज्योति मावि किस्पाङ फिकुरीमा रहेको छ ।