विदुरमा बन्ने प्रस्तावित अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको डिपिआर अन्तिम चरणमा

  • त्रिशूली प्रवाह
  • २९ चैत्र २०८०, बिहीबार १४:५८

विदुर, युवाहरूबीच लोकप्रिय बनिरहेको क्रिकेट खेलको विकास र विस्तारमा विदुर नगरपालिकाले विशेष चासो दिएको छ । नगरपालिकाले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन आवश्यक जग्गाको प्रस्तावसहित आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन लगानी गरेको छ ।

नुवाकोटको विदुर नगरपालिकाले वडा नम्बर ५ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि आयोजनाको डिपिआर निर्माणमा लगानी गरेको छ । नगरपालिकाको लगानीमा अहिले डिपिआर बनिरहेको छ । उक्त डिपिआरको निर्माण अन्तिम चरणमा पुगेको जानकारी नगरपालिकाले दिएको छ । नगरपालिकाको योजनाअनुरूप क्रिकेट मैदान निर्माणका लागि बनाइरहेको डिपिआर र निर्माण स्थलको क्रिकेट सङ्घको केन्द्रीय पदाधिकारी एवम् प्रतिनिधि टोलीले स्थलगत अवलोकन गर्दै निर्माणका लागि जग्गा उपयुक्त हुने प्रतिक्रिया दिएको छ । नगरपालिकाको प्रस्तावमा विदुर नगरपालिका–५ च्वाडी पब्लिक माविको करिब ९० रोपनी जग्गामा क्रिकेट मैदान निर्माणका लागि अहिले डिपिआरको काम विदुर नगरपालिकाले अन्तिम चरणमा पु¥याएको छ । डिपिआरसम्बन्धी जानकारी लिन र निर्माणस्थलको अवलोकन गर्न नेपाल क्रिकेट सङ्घको पूर्वप्रमुख प्रशिक्षक एवम् अहिलेका यू–१९ टिमका प्रमुख प्रशिक्षक जगत टमाटा, नेपाल क्रिकेट सङ्घका केन्द्रीय उपाध्यक्ष रोशनसिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसँग भेट गर्दै आवश्यक प्राविधिक सहयोगको प्रतिबद्धता जनाएका छन् । नगरप्रमुख श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, नुवाकोट जिल्लाबाट क्रिकेट सङ्घको बागमती प्रदेशमा निर्वाचित पदाधिकारी एवम् सदस्य, नुवाकोट जिल्ला क्रिकेट सङ्घको पदाधिकारीसहितको कार्यसमितिको टोलीसँग केन्द्रीय प्रतिनिधि टोलीले निर्माणस्थलको स्थलगत अवलोकनपश्चात् मैदान निर्माणका लागि च्वाडी पब्लिक माविको करिब ९० रोपनी जग्गा उपयुक्त रहेको बताएको छ ।
नगरप्रमुख श्रेष्ठले क्रिकेट मैदान निर्माणका लागि नगरपालिकाको तर्फबाट बनाइरहेको डिपिआरसम्बन्धी प्राविधिक टोलीले गरिरहेको कामको र निर्माणस्थलका लागि जग्गा प्राप्तिसम्बन्धी जानकारी केन्द्रीय प्रतिनिधि टोलीलाई गराएको थियो । सो क्रममा डिपिआर निर्माण चाँडै सम्पन्न हुने पनि उनले अवगत गराए । नगरपालिकाको तर्फबाट क्रिकेट मैदान निर्माणका लागि देखाएको सक्रियता र जग्गाको समेत खोजी भइसकेकाले उक्त कार्य सराहनीय रहेको भन्दै क्रिकेट सङ्घका पूर्वप्रमुख प्रशिक्षक जगत टमाटासहितको केन्द्रीय प्रतिनिधि टोली उत्साहित बनेको छ । मैदान बनाउन अहिले प्रस्ताव गरिएको स्थान उपयुक्त रहेको भन्दै डिपिआर निर्माणपश्चात् थप योजना बनाउन बाटो खुल्ने नेपाल क्रिकेट सङ्घका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

काठमाडौंबाट नजिकको स्थान, विदुर नगरपालिकाको सहयोग र क्रिकेट सङ्घको केन्द्र र प्रदेशमा रहेको नुवाकोटका प्रतिनिधिको जिम्मेवारी र जिल्ला सङ्घको सक्रियताले नुवाकोटमा अन्तर्राष्ट्रियस्तरको मैदान निर्माणको प्रयासमा क्रिकेट सङ्घको केन्द्रीय टोली सकारात्मक रूपमा लागेको हो । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सदस्य एवम् नुवाकोट अध्यक्ष दुर्गाराज पाठकले क्रिकेट मैदानको अभावमा जिल्लामा क्रिकेटका गतिविधि सोचेअनुरूप गर्न नसकेको भन्दै एक मात्र लक्ष्य नै जिल्लामा मैदान निर्माण गर्ने र त्यसमा स्थानीय सरकारको सहयोगले सम्भव रहेको बताए । जिल्लामा क्रिकेट मैदान निर्माणपश्चात् जिल्लास्तरमा विभिन्न विधाका प्रतियोगिता सञ्चालनसहित प्रदेश र केन्द्रीयस्तरका प्रतियोगितासमेत नियमित रूपमा सञ्चालन गर्न सकिने केन्द्रीय सदस्य पाठकको भनाइ छ । क्रिकेट मैदान निर्माणले जिल्लामा खेल क्षेत्रको विकाससहित प्रतियोगिताको अवलोकनका लागि आउने खेलप्रेमी र पर्यटनमार्फत आर्थिक गतिविधि बढाउनसमेत महत्वपूर्ण योगदान पुग्ने भएकाले विदुर नगरपालिकाले सक्रियता देखाएको हो ।