१९ दिने निःशुल्क दन्त उपचार शिविर सम्पन्न

  • त्रिशूली प्रवाह
  • २९ चैत्र २०८०, बिहीबार १५:३०

विदुर, लायन्स क्लब इन्टरनेसनलअन्तर्गत लायन्स सेवा केन्द्रबाट नुवाकोट जिल्लामा सञ्चालित १९ दिने निःशुल्क दन्त उपचार शिविर सम्पन्न भएको छ । सो शिविरमा लायन्स सेवा केन्द्र र जर्मन संस्था डेन्टल भोलेन्टिएर इविको सहकार्यमा भएको थियो । जहाँ दात निकाल्ने, दात भर्ने र दात सफा गर्ने काम गरिएको थियो ।

शिविरमा लायन्स सेवा केन्द्रमा कार्यरत डा. स्वस्तिक देवकोटा, डेन्टल सहायक भगवती अधिकारी र आशामाया तामाङ साथै जर्मन डाक्टर Dr.Heiko Hildenbrandt, Dr.Aya Elkhodary, Dr.Daniel Hildenbrandt, Dr.Anna Hopfhauer, Dr.Sophia Hildenbrandt, Dr.Leah Fuhrmann बाट नुवाकोटको विभिन्न ठाउँमा दन्त सेवा प्रदान गरिएको थियो । निःशुल्क दन्त उपचार शिविर पहिलो र दोस्रो चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा किस्पाङ गाउँपालिका (मनकामना, फिकुरी, काहँुले, भाल्चे र साल्मे) र बाघटार कोलोनीमा रहेको दन्त क्लिनिकमा सम्पन्न गरिएको थियो भने दोस्रो चरणमा विदुर नगरपालिका (अक्करे, साहुगाउँ र बेत्रावती), म्यागङ गाउँपालिका (सामरी), तारकेश्वर गाउँपालिका (जोर्चौतारा) र बाघटार कोलोनीमा रहेको दन्त क्लिनिकमा सम्पन्न गरिएको थियो । फागुन २६ गतेबाट सुरु भएको शिविर चैत २२ गते समापन भएको थियो । उक्त शिविरबाट दुई हजारभन्दा बढी व्यक्तिको मुख तथा दाँतको परीक्षण भएको छ भने पहिलो चरणको दन्त शिविरमा आठ सय ८५ व्यक्तिको उपचार भयो । दोस्रो चरणमा पाँच सय ८७ व्यक्तिको उपचार भएको छ । चैत २३ गते शिविरमा सहभागी सम्पूर्ण डाक्टर, जर्मन संस्था र डेन्टल सहायकलाई सम्मानपत्र दिँदै सो शिविर समापन गरियो । यस शिविरलाई सफल पार्नका लागि शिविरमा आएका सम्पूर्ण व्यक्ति, नगरपालिका र गाउँपालिका, वडासचिव र वडासदस्य, स्वास्थ्यचौकीका कर्मचारीलगायतलाई धन्यवाद व्यक्त गरिएको थियो ।