तीन सामुदायिक वनको कार्ययोजना हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • ३० चैत्र २०८०, शुक्रबार ११:२२

धुन्चे, रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर २ र ३ का तीनवटा सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना गत हप्ता हस्तान्तरण गरिएको छ । उत्तरगया गाउँपालिका– ३ का वडाध्यक्ष लालबहादुर लामा तामाङ, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने र दिगो वन विकास संयोजक अर्जुन चापागाईंले संयुक्त रूपमा तीनवटा वन कार्ययोजना हस्तान्तरण गरेका हुन् ।

महासङ्घको सहयोगमा तयार भएको तथा डिभिजन वन कार्यालय रसुवाले प्रमाणीकरण गरेको गणेशढुङ्गा सामुदायिक वनका अध्यक्ष नरबहादुर गुरुङ, कोरेलीगौथली सामुदायिक वनका अध्यक्ष सिंहबहादुर तामाङ र छागाटुप्पा सामुदायिक वनका बहादुर तामाङलाई संयुक्त रूपमा वन कार्ययोजना हस्तान्तरण गरेका हुन् । हस्तान्तरित कार्ययोजना बुझ्दै छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुर तामाङले जीवनभर आफूले जतनसाथ हुर्काएको वनको अब नेतृत्व हस्तान्तरण गर्ने बताए । ‘विधान संशोधन तथा कार्ययोजना नवीकरण भयो, अब नेतृत्व हस्तान्तरण गर्छु,’ उनले भने । कार्ययोजना हस्तान्तरणपछि भएको अन्तक्र्रियामा सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर गुरुङले समुदायकै सहभागितामा बनेको भए पनि कार्ययोजना सबैले राम्ररी पढ्नुपर्ने बताए । वडाध्यक्ष लामाले सामुदायिक वन उपभोक्ता महासङ्घले बाँकी रहेका म्याद सकिएका अरू वन समूहको पनि कार्ययोजना निर्माणमा सहयोग गरिदिन अनुरोध गरे । केन्द्रीय कोषाध्यक्षले उपभोक्ता समूहको छाता सङ्गठन भएको नाताले महासङ्घले स्थानीयको अधिकारबारे पैरवी तथा आन्दोलन गर्दै आएको बताइन् । दिगो वन विका कार्यक्रम संयोजक चापागाईंले महासङ्घले देशभरका एक सय २७ वटा स्थानीय तहका केही सामुदायिक वनमा सानो सहयोग गरेको बताउँदै सामुदायिक वन संरक्षणमा स्थानीय समुदायको ठूलो भूमिका रहेको र दिगो वन व्यवस्थापन तथा वनमा आधारित आय-आर्जनमूलक काममा उपभोक्ताले ध्यान दिनुपर्ने बताए ।