बाराही मन्दिरको गजुर स्थापना

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १३:५७

बट्टार, स्थानीयको सक्रियतामा विदुर नगरपालिका–२ को बाराहीमा निर्माण भइरहेको बाराही देवीको मन्दिरमा मंगलबार विधिपूर्वक गजुर स्थापना भएको छ ।

प्रदेश र स्थानीय सरकारसँग सहयोग जुटाएर स्थानीयले बाराही क्षेत्रमा मन्दिरसँगै वनभोजस्थलमा आवश्यक पूर्वाधार निर्माण गरिरहेका छन् । मन्दिरका लागि गजुर ब्रदर्श ग्रुप नुवाकोट नेपालले ५८ हजार रुपैयाँको लागतमा खरिद गरेर मन्दिर निर्माण समितिलाई हस्तान्तरण गरेको थियो । चार फिट उचाइको साढे १४ केजीको पित्तलको उक्त गजुर मंगलबार धार्मिक विधिपूर्वक मन्दिरमा स्थापना भएको छ । उक्त कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थलगायतका जनप्रतिनिधि, स्थानीय समाजसेवीसहित स्थानीयवासीको उपस्थितिमा गजुर राखिएको मन्दिर निर्माण समितिका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मन्दिर निर्माणका स्थानीय दाताबाट जिन्सी र नगद गरेर २३ लाख रुपैयाँभन्दा बढी उठिसकेकोसमेत उनले बताए । मन्दिर निर्माणका लागि आ.व.०७९/८० मा बागमती प्रदेश सभा सदस्य केशवराज पाण्डेले सांसद विकास कोषबाट १० लाख, सोही आ.व.मा तत्कालीन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितबाट १० लाख रुपैयाँ प्राप्त भएकोसमेत निर्माण समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिर र मन्दिरपरिसरमा वनभोजस्थलमा ट्रस्ट निर्माणका लागि बागमती प्रदेश सभाका सदस्य बहादुरसिंह लामा र रामप्रसाद ढुङ्गानाले चालू आ.व. मा आठ–आठ लाख बजेट विनियोजित गरिदिएका छन् । उक्त विनियोजित बजेटमध्येबाट आठ लाख मन्दिरको छाना छाउन र आठ लाख वनभोजका लागि ट्रस्ट निर्माण गरिरहेकोसमेत निर्माण समितिले जानकारी दिएको छ ।