तीन महिनादेखि बट्टार-मान्द्रेढुङ्गा सवारी आवत-जावत बन्द

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १४:०३

बट्टार, नुवाकोटको विदुर नगरपालिका-४ र ६ जोड्ने त्रिशूली नदीमाथिको पुल जीर्ण भएपछि सवारीसाधन आवत–जावत पूर्णरूपमा तीन महिनादेखि बन्द भएको छ । ४० वर्षअगाडि देवीघाट जलविद्युत् केन्द्र निर्माणको क्रममा सामान ओसार–पसार गर्ने गरेको उक्त पक्की पुल निर्माण भएको थियो । सो पुलको तीन महिनाअघि लठ्ठा चुँडिएपछि सवारीसाधन आवत–जावतमा निषेध गरिएको हो ।

वडा नम्बर ४ को देवीघाट सिँचाइ (पदमखर्क) र वडा नम्बर ६ मान्द्रेढुङ्गे जोड्ने पुल तीन महिनादेखि जीर्ण बनेको हो । पुलको मर्मत सम्बन्धित निकायले नगर्दा करोडौँ मूल्यको पुल भत्किएको नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकारले बताए । नेपाल विद्युत् प्राधिकरणको जग्गामा बनेको उक्त पुल नेपाल सरकारलाई समयमा हस्तान्तरण नहुँदा मर्मतका लागि सडक कार्यालयले बजेट छुट्याउन नसकेको हो । सो पुल प्रयोग गर्ने विदुर नगरपालिका वडा नम्बर ३, ६, १२ र तारकेश्वर गाउँपालिकाका बासिन्दाले उक्त पुलभन्दा माथि रहेको गौरीबेँसी र तल रहेको धुनीबैँसीको पुल प्रयोग गर्नुपर्ने बाध्यता अहिले रहेको छ । भत्केको पुलबाट दुईपाङ्ग्रे सवारीसाधन र मानिसलाई मात्र आवत–जावत गर्न मिल्ने गरी बार लगाइएको छ । जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलको मुख्य चारमध्ये एउटा लठ्ठा चुँडिएकाले पुलबाट आवागमन बन्द भएको हो । पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो ।

विदुर नगरपालिकाले सार्वजनिक सूचना जारी नै गरेर पुल निर्माणको काम अघि बढाइसकिएको भन्दै निर्माणकार्य पूरा नहुँदासम्म अर्को वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । विदुर नगरपालिकाले छिटोभन्दा छिटो पुलको निर्माणकार्य थाल्ने जनाएको छ । नगर प्रमुख राजन श्रेष्ठले निर्माणकार्य छिटोभन्दा छिटो सकेर आउजाउमा सहजता ल्याउने बताए । बट्टारबजारबाट सीधै विदुर– ६ मान्द्रेढुङ्गा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनीबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ । बट्टारबजारबाट मान्द्रेढुङ्गा हुँदै चैनपुर, दाङसिंह जाने उक्त मुख्य सडकखण्ड विदुर नगरपालिकाको प्रस्तावमा प्रादेशिक सडक गुरुयोजनामा समावेश भएको छ ।