नयाँ वर्षको दिन माङ्चेभुमे जात्रा

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १५:०८

शिवपुरी, नुवाकोटको शिवपुरी गाउँपालिका-१ मा नयाँ वर्षको उपलक्ष्यमा सदाका वर्षझैँ भगवान् माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी गाउँपालिका-१ दिङ्गाममा रहेको यस मन्दिरलाई पालिकाको पूर्वी भेगका जनताले शक्तिपीठको रूपमा पुज्ने गर्छन् । शिवपुरी गाउँपालिकाको अध्यक्ष गोविन्द थपलियाले रिबन काटेर उद्घाटन गरेको उक्त जात्रामा सयौँ भक्तजनले प्रत्यक्ष दर्शन गरेका थिए ।

शिवपुरी गाउँपालिका–१ का अध्यक्ष सुकुराम तामाङसहित जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो जात्रामा एक दर्जनभन्दा बढी झाँक्री समूह जातीय पहिचान झल्कने वेशभूषामा सजिएर उपस्थित भएका थिए । माङ्चेभुमेको पूजापश्चात् पालिका अध्यक्ष थपलियाले सञ्चारकर्मीसँग कुराकानी गर्दै सुरुवाती वर्षदेखि पालिकाबाट जात्रा व्यवस्थापनमा बजेट छुट्याएको जानकारी दिए । गाउँपालिकाभित्र रहेको माङ्चेभुमेलगायत अन्य महत्वपूर्ण धार्मिकस्थललाई पर्यटन क्षेत्रको रूपमा विकास गराउन सके स्थानीय क्षेत्रका जनताको आर्थिक तथा सांस्कृतिक पाटो अझै बलियो हुनेसमेत उनले बताए । वडाबाट सकेको सहयोग गरेको जानकारी दिँदै वडाध्यक्ष तामाङले अझै यस ठाउँको प्रचार–प्रसार गर्न सके आर्थिक लाभ लिन सकिने बताए । साथै, अबको दिनमा प्रदेश तथा केन्द्र सरकारबाट बजेट पार्न नेताहरूलाई आग्रह गर्ने उनले बताए ।