लाङटाङ र गोसाइँकुण्ड पर्यटकले भरिभराउ

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १५:३३
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्ला नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल हो । वसन्त ऋतुको आगमनसँगै जिल्लाको प्रमुख पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्डलगायत क्षेत्र आन्तरिक र बाह्य पर्यटकले भरिभराउ भएका छन् ।

भ्रमण गर्नेको सङ्ख्या आठ हजार सात सयभन्दा बढी पुगिसकेको छ । आजभोलि मौसम सफा रहेकाले हिमाली दृश्यावलोकन गर्दै फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नेको भिड देखिन्छ । यहाँ आउनेहरू प्रकृतिसँग रमाउँदै आनन्दको अनुभूति गर्ने गोसाइँकुण्ड पदमार्गको चन्दनबारीका होटेल व्यवसायी सुब्बा लामाले बताए । दैनिक गोसाइँकुण्ड र लाङटाङ जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढिरहेकोसमेत उनले बताए ।

होटेल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान गजुरेलका अनुसार गोसाइँकुण्ड र लाङटाङ जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दैनिक एक सयभन्दा माथि रहेको छ । यस क्षेत्रमा भ्रमण गर्ने विदेशी पर्यटक मात्र ६ हजार पाँच सय २७ जना रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । भ्रमण गर्ने विदेशी पर्यटकमा दुई सय ३९ जना सार्क राष्ट्रका रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटक कोही धार्मिक पर्यटकीय क्षेत्र गोसाइँकुण्ड र कोही लाङटाङ जाने विदेशी पर्यटकबाट दुई करोड ९९ लाख ९६ हजार आठ सय ५४ प्रवेश शुल्क उठेकोसमेत उनले बताए । निकुञ्ज प्रवेश गर्ने आन्तरिक पर्यटकले एक सय र सार्क राष्ट्रका पर्यटकले १५ सय रुपैयाँ र अन्य देशका पर्यटकले तीन हजार प्रवेश शुल्क तिर्नुपर्छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत बरालका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पदयात्रा गर्ने क्रममा यस क्षेत्रमा पाइने जनावर, पशुपन्छीलाई नचलाउन, रुख–बिरुवा नभाँच्न, नकाट्न र जथाभावी फोहोर नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिने गरिएको छ । लाङटाङ हाइकिङ गर्न, नजिकबाट हिमाल हेरेर आनन्द लिन र गोसाइँकुण्ड पदयात्रा गर्दै धार्मिक लाभ लिन पर्यटक आउने गरेका छन् ।