नुवाकोट एफएमको बृहत साँस्कृतीक कार्यक्रममा पत्रकार रिमाल र ब्यवसायी अधिकारी सम्मानित

  • त्रिशूली प्रवाह
  • १२ बैशाख २०८१, बुधबार १५:५७

देविघाट, नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले वृहत साँस्कृतीक कार्यक्रम मंगलबार नुवाकोटको देविघाटमा सम्पन्न गरेको छ । नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्राको अवसरमा विदुर नगरपालिका वडा नम्बर-५ देविघाटमा विभिन्न कलाकारहरूको प्रस्तुतिसहित कार्यक्रम भएको हो ।

कार्यक्रममा कलाकारहरू शिवनारायण जोशी, दलबहादुर डँगोल, दामोदर खतिवडा, उद्धव कार्की, जनक लामा, अर्चना स्याङ्ताङ, कोपिला वाईबा तामाङ, इन्द्र तामाङ लगायतका कलाकारहरूले विभिन्न साँस्कृतीक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्नुभएको भन्दै दुई जनालाई सम्मान गरिएको थियो । नेपाली भाषा, साहित्य र पत्रकारिताका माध्यमबाट नेपाली समाजको सकारात्मक रूपान्तरणमा चार दशक भन्दा बढी समय समर्पित गर्नुभएका नुवाकोटको विदुर नगरपालिका वडा नं.-८ बगुवामा जन्मनुभएका श्याम प्रसाद रिमाल र नुवाकोटमा ब्यापार प्रर्वद्धन र रोजगार सिर्जनामा खेल्नुभएको नेतृत्वदायी भुमिकाको उच्च प्रशँसा गर्दै नारायणी बेकरीका खिल बहादुर अधिकारीलाई सम्मान गरिएको नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारीले बताउनुभयो । नेपाल शान्ति विकास एवम् विकास केन्द्रका अध्यक्ष शिव प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसहित विभिन्न संघ–संस्थाका ब्यक्तिको आतित्थ्यता रहेको थियो ।