नुवाकोट एफएमको बृहत् सांस्कृतिक कार्यक्रममा पत्रकार रिमाल र व्यवसायी अधिकारी सम्मानित

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १२:५४

देवीघाट, नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले बृहत् सांस्कृतिक कार्यक्रम मंगलबार नुवाकोटको देवीघाटमा सम्पन्न गरेको छ । नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्राको अवसरमा विदुर नगरपालिका-५ देवीघाटमा विभिन्न कलाकारको प्रस्तुतिसहित कार्यक्रम भएको हो ।

कार्यक्रममा कलाकारहरू शिवनारायण जोशी, दलबहादुर डङ्गोल, दामोदर खतिवडा, उद्धव कार्की, जनक लामा, अर्चना स्याङ्ताङ, कोपिला वाइबा तामाङ, इन्द्र तामाङलगायतका कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै दुईजनालाई सम्मान गरिएको थियो । नेपाली भाषा, साहित्य र पत्रकारिताका माध्यमबाट नेपाली समाजको सकारात्मक रूपान्तरणमा चार दशकभन्दा बढी समय समर्पित गरेका नुवाकोटको विदुर नगरपालिका-८ बगुवामा जन्मिएका श्यामप्रसाद रिमाल र नुवाकोटमा व्यापार प्रवद्र्धन र रोजगार सिर्जनामा खेलेको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्दै नारायणी बेकरीका खिलबहादुर अधिकारीलाई सम्मान गरिएको नुवाकोट एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारीले बताए । नेपाल शान्ति विकास एवम् विकास केन्द्रका अध्यक्ष शिवप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसहित विभिन्न सङ्घ-संस्थाका व्यक्तिको आतिथ्य रहेको थियो ।