विदुरको नगरसभाबाट चार करोड ९५ लाख ५० हजार रकमान्तर

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १३:०२

विदुर, विदुर नगरपालिकाको १४औँ नगरसभा वैशाख १० गते सोमबार सम्पन्न भएको छ । नगरप्रमुख राजनलाल श्रेष्ठ सभाध्यक्ष रहेको सभामा उपप्रमुख प्रभा बोगटीले चालू आर्थिक वर्ष ०८०/८१ को संशोधित योजना तथा कार्यक्रम र रकमान्तर प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव नगरसभाका सदस्यबाट सर्वसम्मत् पारित भएको छ । नगरसभाले चार करोड ९५ लाख ५० हजार रुपैयाँ रकमान्तर गरेको छ ।

संशोधित योजना तथा कार्यक्रममा मसलन्द तथा कार्यालय सामग्री १६ लाख, अवकाशप्राप्त कर्मचारी उपादान, औषधि उपचार, बिदा तीन करोड, सडक मर्मत दुई करोड, सेतीदेवी मावि सडक वडा नम्बर ११ को १ करोडलगायतमा चालू आर्थिक बजेटको विभिन्न ४५ वटा शीर्षकमा रकमान्तरण गरिएको छ । यसैगरी, हात्तीगौंडा-राईसिंङ-डेउडी सडक एक करोड, सडकबत्ती २५ लाख, सञ्चार तथा मिडिया क्षेत्र सहयोग दुई लाख, एसइई उत्तीर्ण विद्यार्थीलाई तालिम १० लाख रुपैयाँलगायतका शीर्षकमा बजेट रकम थप गरेको छ । यसअघि नगरसभालाई सम्बोधन गर्दै प्रमुख श्रेष्ठले कतिपय योजना कार्यान्वयन हुन नसक्ने अवस्था आएकाले रकमान्तर गरेर अन्य महत्वपूर्ण स्थानमा राखिएको जानकारी दिए । बजेटको समस्याका कारण आवश्यक र प्राथमिकतामा रहेका योजनासमेत कार्यान्वयनमा जटिलता आएको भन्दै यसलाई बिस्तारै समाधान गर्दै जाने प्रतिबद्धता पनि जनाए । सो अवसरमा वडाध्यक्ष तथा नगरसभा सदस्यले आ-आफ्नो वडाको विषयमा समेत जिज्ञासा राखेका थिए भने कतिपयले आफ्नो वडामा बजेट अपुग भएको गुनासो पनि गरेका थिए ।