सुरक्षाकर्मीद्वारा आगलागीसम्बन्धी पूर्वतयारी अभ्यास

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १३:२३

धुन्चे, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाको आयोजना तथा नेपाली सेना विष्णुदल गण र जिल्ला प्रहरी कार्यालय रसुवाको सहकार्यमा जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा वैशाख ९ गते सुक्खा खडेरी मौसममा आगलागीबाट हुन सक्ने क्षतिका लागि पूर्वतयारीस्वरूप अभ्यास प्रदर्शन भएको छ ।

कार्यक्रममा नेपाली सेना विष्णुदल गणका सैनिक, सशस्त्र प्रहरी बल जवान र जिल्ला प्रहरी कार्यालयका प्रहरीद्वारा अभ्यास गरेर देखाएका थिए । विपत् एउटा डरलाग्दो र भयानक स्थिति भएकाले जसले ठूलो जनधनको क्षति गर्नुका साथै पूर्वजानकारीबिना आउने यस्ता विपत्ले पु¥याउने क्षतिको आकलन गर्न नसकिने हँुदा पूर्वतयारीका साथ लागेर क्षतिलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले यो अभ्यास कार्यक्रम गरिएको जिल्ला विपत् व्यवस्थापन समिति रसुवाले जनाएको छ । अभ्यास कार्यक्रममा सदरमुकाम धुन्चेको खेलमैदानमा गर्दै धुन्चेनजिकै रहेको नागुङ सामुदायिक जङ्गलमा आगलागीको कल्पना गरिएको थियो । जङ्गलमा लागेको आगो गाउँको एक घरमा सल्कन्छ र आगलागी हुन्छ । आगो घरमा पनि फैलने डरले गाउँलेको भागाभाग हुन्छ । हेर्दाहेर्दै अर्को घरको आधा-आधी भाग जल्दै गर्दा उक्त स्थानमा छिटो–छिटो पुगी पीडितको उद्धार गर्न सुरक्षाकर्मी रेक्युपमेन्टसहितको फायर फाइटिङ टोली उक्त स्थानसम्म पुगेर सुरक्षा बलको विपत् व्यवस्थापन तालिमप्राप्त टोलीले आफूसँग भएको फायर स्टिंग्यसर र वाटर ब्याक, प्याकपम्पको प्रयोग गरी कसरी घर वा कुनै ठाउँमा लागेको आगो तत्कालै निभाउन सकिन्छ भन्ने अभ्यासमार्फत देखाइएको थियो ।

घरमा लागेको आगोको कारण घाइते भएका व्यक्तिलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याई सामान्य घाइतेलाई सोही स्थानमा मेडिकल टोलीले उपचार गरी गम्भीर घाइते भएका व्यक्तिलाई एम्बुलेन्सद्वारा जिल्ला अस्पताल रसुवातर्फ पठाइएको थियो । जिल्ला विपत् व्यवस्थापन समितिको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक केशव भट्टराई, विष्णुदल गणका मेजर, सशस्त्र प्रहरी नम्बर २० गुल्मका गुल्मपति सुमन थापा, सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगी, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङलगायत विभिन्न कार्यालयका कार्यालय प्रमुख, रसुवा अस्पतालका डाक्टर र नर्सलगायतको उपस्थिति रहेको थियो ।