बौद्ध शान्ति समाज नुवाकोटको अध्यक्षमा रुम्बा

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १३:४३

विदुर, नेपाल बौद्ध शान्ति समाज नुवाकोटको प्रथम भेला शनिबार विदुर नगरपालिका-२ को सांगे छ्योइलिङ धोर्जोङ गोन्पामा सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष पाल्साङबज्र लामाको प्रमुख आतिथ्यमा जिल्लाका विभिन्न गोन्पाका लामा र गोन्पा सञ्चालक समितिको प्रतिनिधिको उपस्थितिमा सम्पन्न भेलाले होम रुम्बाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरेको छ । भेलाले जिल्लाका १२ वटै पालिकामा संयोजक चयन गरेर पालिका कमिटी गठन गर्ने जिम्मेवारी दिएको छ ।

उक्त भेलाले नेपाल बौद्ध शान्ति समाज नुवाकोट कार्यसमितिको अध्यक्षमा होमबहादुर रुम्बा, उपाध्यक्षमा ठाकुरराम लामा, सचिवमा केसाङ शेर्पा, कोषाध्यक्षमा पार्वती तमाङ र सदस्यमा मानबहादुर तामाङ, भोजमान लामा, मानबहादुर तामाङ (ख), मीनबहादुर पाख्रिन, सिर्जना लामा, शर्मिला तामाङ, वीरबहादुर घले, टलकमान घले, सरिना घिसिङ, इन्द्रबहादुर तामाङ, कुलबहादुर तामाङ, सुनीलदोर्जे लामा, लालीमाया मोक्तान, विनोद लामा, सूर्य तामाङलाई चयन गरेको छ । उक्त भेलाले विदुर नगरपालिकाको संयोजकमा अक्कलबहादुर तामाङ, बेलकोटगढी नगरपालिकाको संयोजकमा औतार लामा, ककनी गाउँपालिकाको संयोजकमा उत्तर लामा, दुप्चेश्वर गाउँपालिकाको संयोजकमा कर्णबहादुर स्याङ्तान, किस्पाङ गाउँपालिकाको संयोजकमा लालबहादुर घले, पञ्चकन्या गाउँपालिकाको संयोजकमा पासाङदोर्जे लामा, शिवपुरी गाउँपालिकाको संयोजकमा ज्ञानदोर्जे लामा, म्यागङ गाउँपालिकाको जयबहादुर तामाङ, तारकेश्वर गाउँपालिकाको संयोजकमा गंगाबहादुर वाइबा, लिखु गाउँपालिकाको संयोजकमा जितबहादुर घले, तादी गाउँपालिकाको संयोजकमा विष्णु तामाङ र सूर्यगढी गाउँपालिकाको संयोजकमा मलाङदुङ तामाङलाई जिम्मेवारी तोकेको छ ।

कार्यक्रममा उपस्थित केन्द्रीय अध्यक्ष पाल्साङबज्र लामाले बुद्ध धर्म र सङ्घको अर्थ बताउँदै लामा–लामाबीच पनि आफ्नो महत्व नबुझी सिलको पालना नगर्ने लामा कर्मकाण्डतर्फ लागेको देख्दा अत्यन्त दुःखी भएको बताए । उलले सो कार्यक्रममा नेपाल बौद्ध शान्ति समाजको उद्देश्य र महत्वलाई प्रस्ट पार्दै बुद्ध जन्मेको देशको मानिस हाम्रो धर्म बुद्ध भएकाले हामी सधैँ सम्पूर्ण प्राणी हितका लागि लाग्नुपर्ने र हाम्रो संस्था पनि शान्ति समाज भएकाले यस संस्थाप्रति राज्यले पनि मद्दत गरेमा अवश्य नेपाल शान्तिको देश बन्ने बताए । भेलाबाट निर्वाचित अध्यक्ष रुम्बाले लामा भन्ने शब्द महान् छ, त्यसैले लामा बन्दै कर्मकाण्ड गर्ने, कुनै लोभलाभमा मन नलगाई शुद्धसँग धर्ममा लेखिएको मार्गदर्शनअनुसारको पूजा गर्नुपर्ने धारणा राखेका थिए ।