भैँचालाबाट ज्यान गुमाएका सैनिकका सम्झनामा स्मृति स्मारक निर्माण

  • त्रिशूली प्रवाह
  • १८ बैशाख २०८१, मंगलवार १५:४६
  • सरस्वती न्यौपाने

धुन्चे, विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाएका नेपाली सेनाका १० सैनिकका सम्झनामा लाङ्टाङमा ‘स्मृति स्मारक’ निर्माण भएको छ । रसुवा जिल्ला एवं लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ विष्णुदल गणका गणपति प्रमुख सेनानी विक्रम थापाका नेतृत्वमा स्मारकका साथै सात माने निर्माण भएको छ । सोको शिलालेख गत वर्ष भूकम्प दिवसका दिन नेपाली सेना, श्री नं ६ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी रोजप्रताप जबराले अनावरण गर्नुभएको थियो ।

धनजनसहित ठुलो क्षति बेहोरिएको गोरखा भूकम्पको स्मरण गर्दै नेपाल सरकारले हरेक वर्ष वैशाख १२ गते भूकम्प स्मरण दिवस सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर भएको भूकम्पबाट गएको हिमपहिरामा परी रसुवा, लाङटाङमा १० सैनिक, १७५ स्थानीय बासिन्दासहित २०१ नेपाली र ३८ विदेशी पर्यटकले ज्यान गुमाएका थिए । भूकम्पबाट लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ त्यस बेला खटिएको नारायणदल गणका सुरक्षाकर्मी बसेको ब्यारेक नै पुरिएर सैनिक बेपत्ता भएको तथा पहिराले लाङ्टाङ गाउँ पनि पुरिएको थियो । सो भूकम्पका स्मरणमा लाङ्टाङमा निर्मित स्मारकमा यही वैशाख १२ गते सर्वसाधारणका उपस्थितिमा स्थानीय परम्परानुसार झन्डा अनावरण गरिएको थियो । ब्यारेक पुरिएका ठाउँमा स्मारक र पदयात्रामार्गमा स्थानीय संस्कृति र परम्परानुसार प्रार्थना सर्कल निर्माण गरिएको छ । सहायकरथी थापाका अनुसार स्मारक र माने निर्माण गर्न एक महिना लागेको थियो जसमा गणको आन्तरिक स्रोत व्यवस्थापन र गणका जवानले श्रमदान गरेका थिए ।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले सेनाको यस कार्यको रसुवाबासीले सधैंँ सम्झिरहने बताउनुभयो ।