तादी खोलाको पानी नुवाकोट दरबार पुग्ने भो

  • त्रिशूली प्रवाह
  • १८ बैशाख २०८१, मंगलवार १६:४४

विदुर, तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाई आयोजनाको काम सुरू भएको छ ।

विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाई आयोजना’ को शिलान्यास गरेसँगै काम अघि बढाईएको हो । विदुर नगरपालिका वडा नं.–५ को तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाईको दूरीमा पर्ने विदुर नगरपालिका वडा नं.–२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकांक्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । ‘पानीको चरम समस्या र मुहान अभावले व्यवस्थापनमा देखिएको चुनौतीलाई लिफ्ट सिँचाई योजनामार्फत समाधानको प्रयासमा लागेका छौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘बहुवर्षीय योजनामार्फत काम गरिने भएकाले आवश्यक थप बजेटको सुनिश्चितता र गुणस्तरीय काम गराउन नगरले पहल गर्नेछ ।’ खानेपानी तथा सरसफाई डिभिजन नं.–२ धादिङमार्फत कार्यान्वयन गराउन लागिएको उक्त योजनामा चालु आर्थिक वर्षमा एक करोड बजेट प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष अच्युतम राजभण्डारीले जानकारी दिए ।

आगामी असार मसान्तसम्ममा नुवाकोट (विदुर नगरपालिका वडा नं.–२ दरबार क्षेत्र) मा दुईलाख क्षमताको मुख्य वितरण ट्याङ्कीसहित एङ्गल ब्लक, पम्पघर, वेल्डिङ र समवेलको काम पूरा गर्ने कार्यदेश रहेको छ । यसका लागि वागमती प्रदेस सरकारबाट ८७ लाख १८ हजारसहित उपभोक्तामार्फत ९ लाख ६८ हजार बराबरको श्रमदानको काम हुनेछ । उक्त योजना सम्पन्नपश्चात् विदुर नगरपालिका वडा नं.–२ नुवाकोट दरबार क्षेत्रका ६ सय घरधुरी लाभान्वित हुनेछन् । आयोजना पूरा गर्न १२ करोड लाग्ने बताइएको छ ।