बागमती प्रदेशमा वैशाख २४ देखि तामाङ र नेपाल भाषामा सरकारी कामकाज

वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा

  • त्रिशूली प्रवाह
  • २० बैशाख २०८१, बिहीबार १२:१८

हेटौँडा, बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषाका रूपमा तामाङ र नेपाल भाषालाई प्रयोगमा ल्याउने भएको छ । तामाङ र नेपाल भाषा बोल्ने समुदायको अधिक बसोवास रहेको यस प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषाका रूपमा तामाङ र नेपाल भाषाको प्रयोगको शुभारम्भ वैशाख २४ बाट हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख २४ गते सोमबार काठमाडौंको वसन्तपुरमा हुने सार्वजनिक समारोहलाई सम्बोधन गरेर प्रदेश सरकारी कामकाजको भाषा प्रदेशभर शुभारम्भ भएको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले घोषणा कार्यक्रममा प्रमुख अतिथिमा प्रधानमन्त्री प्रचण्डलाई आमन्त्रण गरिएको जानकारी दिए । उनले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बिहान भेट गरी निमन्त्रणापत्र बुझाइएको बताउँदै सोही दिनबाट यो निर्णय प्रयोगमा आउने बताए । यससँगै बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालय वा सार्वजनिक निकायमा देवनागरी लिपिसँगै तामाङ र नेपाल भाषाको लिपिसमेत प्रयोगमा आउनेछ । मन्त्री बज्राचार्यले प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० मा भएको व्यवस्थालाई प्रदेश सरकारले कार्यान्वयन गर्न लागेको बताए । घोषणा कार्यक्रममा प्रमुख आतिथ्य ग्रहणका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, नेवाः र तामाङ समुदायका अगुवा पुगेका थिए । वैशाख २४ बाट नै प्रदेश सरकार र मातहतका कार्यालयबाट पत्राचार गर्दा, सार्वजनिक सूचना प्रकाशन र प्रसारण गर्दा शीर्ष भागमा नाम र मितिसँगै सरकारी निकाय र कार्यालयको साइनबोर्डमा तामाङ र नेपाल भाषासमेत प्रयोग गरिनेछ । प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ भएका अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएको छ ।