प्रहरीचौकी उद्घाटन

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार ११:४६

लाँकुरीभञ्ज्याङ, पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा निर्माण भएको इलाका प्रहरी कार्यालय भवन गत बिहीबार बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गरे । गत ०७८ चैत २० गते इलाका प्रहरी कार्यालय स्थापना भएको थियो ।

कार्यालयको भवन बनाउन आवश्यक दुई रोपनी जग्गा गाउँपालिका अध्यक्ष रमेश (तेजबहादुर) तामाङले खरिद गरेर इलाका प्रहरी कार्यालयलाई निःशुल्क प्रदान गरेपछि भवन बनाउन प्रक्रिया अगाडि बढेको थियो । उक्त जग्गामा बागमती प्रदेश सरकारबाट प्राप्त दुई करोड दुई लाख लागतमा तीनतले पक्की भवन निर्माण भएको हो । निर्माण भएको पक्की भवनमा कार्यालय, ब्यारेक, मेससहित आवश्यक संरचना रहेको छ । उक्त कार्यालयमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जनाको दरबन्दी रहे पनि जनशक्तिको अभावले हाल प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जना मात्र कार्यरत छन् । प्रहरी एकाइको भवन शुभारम्भको अवसरमा मन्त्री श्रेष्ठले प्रहरीका लागि नयाँ भवनले मात्र सेवा सहज नहुने भन्दै आवश्यक जनशक्ति, सवारी–साधन, प्रविधिको उपयोगसहित समयअनुकूल तालिमप्राप्त प्रहरी जनशक्तिमार्फत सुरक्षा दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण हुने बताए । बागमती प्रदेश सभाका सदस्य तथा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेश महतले पञ्चकन्या गाउँपालिका– २ मा लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि कार्यालयमा राखिएको ५३ लाख हराएको चार वर्ष पूरा भए पनि घटनामा संलग्नको पहिचान नभएको भन्दै प्रहरी एकाइको स्थापनाले सुरक्षाको प्रत्याभूति बलियो हुने विश्वास व्यक्त गरे । सो कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको पनि उपस्थित रहेको थियो । प्रहरीको नयाँ एकाइ स्थापनासँगै निर्माण गरिएको तीनतले सुविधासम्पन्न भवनले प्रहरीलाई सेवा दिन सहजता पुग्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले बताए । सो कार्यक्रमलाई सम्बोधन गर्दै पञ्चकन्या गाउँपालिका अध्यक्ष तामाङले गाउँको विकास र सरकारी सेवा विद्युत् काउन्टर, बैंक, प्रहरी एकाइ गाउँमा ल्याउन आफैँले जग्गा दिँदा केही गुमाएभन्दा पनि गाउँको लागि धेरै उपलब्धि प्राप्त भयो भन्दै खुसी व्यक्त गरे ।

राज्य पुनर्संरचनापछि नुवाकोटमा स्थापना भएका १२ पालिकामध्ये एक हो पञ्चकन्या गाउँपालिका । साबिकको पाँच गाविस पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार र चौघडाको वडा नम्बर ३, ४, ९ लाई समायोजन गरेर बनाइएको हो । पञ्चकन्यामा सरकारी सेवा प्रवाह बल्ल जनताको घरदैलोमा पुग्न थालेको छ । यस पालिकाको पहिलो कार्यकालमा अध्यक्ष पदमा तेजबहादुर तामाङ निर्वाचित भए । उनले जनतालाई सरकारी सेवा गाउँबाटै दिने कसरी भने योजना बनाउँदै अघि बढे । पालिकावासीको माग थियो, घरनजिकै बिजुलीको महसुल तिर्न पाए हुन्थ्यो । पञ्चकन्याबाट बिजुलीको महसुल तिर्न सदरमुकाम पुग्दा दिनभर लाग्ने पीडा सुनेर महसुल काउन्टरका माग लिएर गाउँपालिका अध्यक्ष तामाङ नेपाल विद्युत् प्राधिकरण पुगे । प्राधिकरणले उनलाई उठाएको रकम सुरक्षित बनाउन बैंक राख्नुपर्छ अनि काउन्टर स्थापना हुन्छ । विद्युत्को काउन्टर राख्न मात्र होइन, पालिकालाई समेत अत्यावश्यक भएको बैंक सेवा माग्नका लागि उनी राष्ट्र बैंक पुगे । बैंक आउन तयार भयो, तर त्यसको लागि प्रहरीचौकी हुनुपर्ने प्रस्ताव आयो । पालिकाभरमा एउटै प्रहरी एकाइ थिएन । यसपछि पालिका अध्यक्ष तामाङ चौकी माग्न जिल्ला प्रशासन पुगे । प्रमुख जिल्ला अधिकारीले उनलाई चौकी स्थापना हुन्छ । त्यसका लागि भवन बनाउन दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुपर्छ । चौकीका लागि चाहिने भवन बनाउन सरकारले बजेट दिए पनि जग्गा भने खरिद गर्न नमिल्ने भएकाले प्रजिअले पालिका अध्यक्षलाई जग्गा निःशुल्क उपलब्ध गराउन आग्रह गरे । सरकारी सेवालाई गाउँमा ल्याउने मुख्य ‘हतियार’ भएको दुई रोपनी जग्गा खोज्न निकै भौँतारिएका अध्यक्ष तामाङको कोसिस सफल हुन सकेन । अन्तमा, उनले आफैँले जग्गा खरिद गरेर प्रहरीचौकी भवन निर्माणको लागि हस्तान्तरण गरे ।