पत्रकार महासङ्घको अधिवेशन सम्पन्न नेतृत्व चयन बाँकी

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार ११:५४

विदुर, नेपाल पत्रकार महासङ्घ नुवाकोटको आठौँ अधिवेशन गत बुधबार सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्न भएको अधिवेशनको निर्वाचनको मिति भने महासङ्घको केन्द्रले पछि तोक्ने बताइएको छ ।

आठौँ अधिवेशन तथा १२औँ साधारणसभाको नेपाली काङ्ग्रेसका नेता तथा बागमती प्रदेश सरकारका पूर्वमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए । पूर्वमन्त्री लामाले पत्रकार राजनीतिक विचारबाट टाढै हुनुपर्नेमा जोड दिए । पूर्वमन्त्री लामाले पत्रकारले प्रतिशोधको भावनामा नभई खोजमूलक पत्रकारिता गर्नुपर्ने र सत्य, तथ्य, अनुसन्धानमा आधारित समाचार तथा सूचना सम्प्रेषण गर्नसमेत आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडाले पछिल्लो समय पत्रकारले पत्रकारिताबाट मात्र जीविकोपार्जन गर्न नसकेकाले पत्रकारितासँगै अन्य पेसा–व्यवसाय पनि अँगाल्न बाध्य भएको बताए । पत्रकारितालाई राजनीतिक दलले सत्तामा जाने भ¥याङ मात्र बनाएको कारण पनि पत्रकारिता क्षेत्रमा सरकारको ध्यान नपुगेकोसमेत उनले बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति तथा बागमती प्रदेश सभाका सदस्य रमेशकुमार महतले स्थानीय सञ्चारमाध्यमले स्थानीय मुद्दालाई उठान गरी राष्ट्रिय तहसम्म पु¥याउनुपर्ने बताए । उनले विकास पत्रकारिताको अझै खाँचो रहेको बताउँदै पत्रकारिता क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासङ्घ नुवाकोटका कार्यवाहक अध्यक्ष नवदीप श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति राजु थापा, राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सभापति रामेश्वर गजुरेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावल, अकोरावका केन्द्रीय अनुशासन आयोगका सदस्य देवचन्द्र भट्ट, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य भोलाराज पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य किरण अधिकारी, प्रेस युनियनका बागमती प्रदेश उपाध्यक्ष श्रीराम नेपाल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष नमराज सुवेदी, प्रेस चौतारी नुवाकोटका उपाध्यक्ष श्रीराम अधिकारी, प्रेस सेन्टर नुवाकोटका अध्यक्ष रामहरि गजुरेललगायतले मर्यादित, विश्वासिलो र जिम्मेवार पत्रकारिता आजको आवश्यकता रहेको बताए । अधिवेशनमा कार्यवाहक अध्यक्ष नवदीप श्रेष्ठले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष सुनील विष्टले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ । कार्यक्रममा श्रमजीवी पत्रकार, आचारसंहिता, शुद्धीकरण, सञ्चार माध्यमको संरक्षणलगायतका विषयमा छलफलसमेत भएको छ ।