क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार १२:११

विदुर, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले नगरपालिकाले पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेको बताएकी छिन् । सोमबार ग्रिनलाइन नेपाल संस्थाले विदुरमा आयोजना गरेको एकदिने स्वास्थ्य र वातावरणसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षणलाई सम्बोधन गर्दै उपप्रमुख बोगटीले उक्त जानकारी दिएकी हुन् ।

कार्यक्रममा उपप्रमुख बोगटीले पहिलो चरणमा नगरपालिकाले सामुदायिक वनकर्मीको अभिमुखीकरण तालिम गरिसकेको जानकारीसमेत दिइन् । वनजङ्गललाई मानवको जीवनसँग जोड्नुपर्नेछ । वनजङ्गल र खुला क्षेत्रमा फलफूलका बिरुवा रोप्दा आय–आर्जन गर्न र वन्यजन्तुबाट पनि जोगिन सक्ने बताइन् । ‘सामुदायिक स्तरमा वन संरक्षणमा महिलाको ठूलै भूमिका रहेको छ,’ उपप्रमुख बोगटीले भनिन्, ‘वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका लागि नागरिक आफैँ जागरुक हुनुपर्नेछ । वन–जङ्गलमा डढेलो लाग्दा श्वास–प्रश्वासमा समस्या आइरहेको छ ।’ उपप्रमुख बोगटीले विकास निर्माणमा प्रयोग भएका सिमेन्टका बोरा तथा अन्य प्लास्टिकजन्य सामग्रीलाई उचित व्यवस्था गरी पर्यावरण कायम राख्न सामुदायिक वनका उपभोक्ता लाग्नुपर्ने बताइन् । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग रहेको प्रशिक्षणमा नुवाकोट जिल्लाका ४० जना महिलाको सहभागिता रहेको संस्थाका अध्यक्ष सुवास पाण्डेले जानकारी दिए । प्रशिक्षणमा वन डिभिजन कार्यालयका वन अधिकृत कमल घिमिरे, विदुर नगरपालिकाका फोहोरमैला तथा वातावरण शाखाका प्रमुख सुवास पाण्डे र स्वास्थ्यकर्मी गरिमा जोशीले सहजीकरण गरेका थिए ।