देवीघाट ज्येष्ठ नागरिक प्रतिष्ठानलाई विशिष्ट समाजसेवी सम्मान

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार १२:२६

विदुर, समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोष काठमाडौंले नेपाल अधिराज्यभरका ज्येष्ठ नागरिकको संरक्षणमा सक्रिय रहेका ज्येष्ठ नागरिक सेवा आश्रममध्ये नुवाकोट जिल्लाको विदुर नगरपालिका-५ मा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई विशिष्ट समाजसेवी सम्मान प्रदान गरेको छ ।

कोषले उत्कृष्ट ज्येष्ठ नागरिक सेवक संस्थाको रूपमा वैशाख २३ गते काठमाडौंमा एक भव्य समारोहबीच विशिष्ट समाजसेवी सम्मान कार्यक्रममा प्रतिष्ठानका संस्थापक÷अध्यक्ष विष्णुप्रसाद नेपाललाई सम्मान गरेको थियो । प्रतिष्ठानका अध्यक्ष नेपाललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विशिष्ट समाजसेवी सम्मानपत्र प्रदान गरेकी हुन् । प्रतिष्ठानलाई यस किसिमको सम्मानले अझ उत्साहित भएर ज्येष्ठ नागरिकको सेवा गर्न प्रोत्साहन प्राप्त भएको अध्यक्ष नेपालले सो अवसरमा बताए । प्रतिष्ठान निर्माण सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्ण ईश्वरीय मनका दानवीर दाताप्रति उनले कृतज्ञतासहित विशिष्ट समाजसेवी घोषणा गरी सम्मानपत्र प्रदान गर्ने राष्ट्रिय ज्येष्ठ नागरिक कोष काठमाडौंलाई हार्दिक आभार व्यक्त गरे ।

सामाजिक सेवाभावले उत्प्रेरित भई असहाय ज्येष्ठ नागरिकलाई संरक्षण गरी ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवको सम्मान गर्दै उपयोग गर्न प्रतिष्ठान स्थापना गरी ज्येष्ठ नागरिकलाई निःशुल्क आवासीय सुविधा प्रदान गरी नवपुस्तालाई प्रेरणा प्रदान गरेकाले अध्यक्ष नेपाल र प्रतिष्ठानलाई देशभरि नै उत्कृष्ट रहेको पाइएकाले सम्मान गरिएको कोषका अध्यक्ष वसन्तराज कार्कीले बताए । सम्मान कार्यक्रममा एक सय वर्षका व्यक्तित्व डा. गौरीशंकरलाल दास विशिष्ट अतिथि रहेका थिए । प्रतिष्ठानले हाल ३० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई निःशुल्क भोजनसहितको आवासीय सुविधा प्रदान गरिरहेको छ ।