+
Search

ताजा अपडेट +

पपुलर +

ठेकेदार गायब हुँदा चार स्वास्थ्यचौकी भवन निर्माण अलपत्र

ठेकेदार गायब हुँदा चार स्वास्थ्यचौकी भवन निर्माण अलपत्र
त्रिशूली प्रवाह
२ साल अगाडी
  • हेमनाथ खतिवडा

धुन्चे, रसुवामा तीन वर्षदेखि निर्माणाधीन चारवटा स्वास्थ्यचौकी भवन निर्माण कम्पनीले अलपत्र छाडेका छन् । निर्धारित समयमा भवन निर्माण नहुँदा सेवाग्राही समस्यामा परेका छन् । कालिका गाउँपालिका-१ मा निर्माणाधीन राम्चे स्वास्थ्यचौकी भवन समयमा निर्माण सम्पन्न नभई अलपत्र रहेकाले नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको स्थानीयको भनाइ छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

चार वर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्यचौकी भवन प्लास्टर, झ्याल, ढोका, रङ, शौचालय निर्माणलगायतको काम छाडेर हिँडेका निर्माण व्यवसायी अझै फर्केका छैनन् । भवन निर्माणको काम दुई वर्षदेखि नगरेको स्वास्थ्य संस्थाका प्रमुख सिअहेव रामप्रसाद ढकालले बताए । भाडामा रहेको कोठाबाट सेवा प्रदान गर्न निकै असहज भएको उनको भनाइ छ । निर्माण कम्पनीसँग ताकेता गरेको तर काम समयमा नगरेको सघन सहरी तथा भवन कार्यालय जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख बुद्धजित लामाले बताए । भवन निर्माणको जिम्मा पाएको ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन प्रा.लि.का प्रमुख ककनी गाउँपालिका निवासी दीपेश लामा सम्पर्कमा आएनन् । उनको मोबाइलमा लामो समयदेखि सम्पर्क गर्दा नउठेको उनले बताए । समयमा काम नगर्ने र अलपत्र छाड्ने कम्पनीलाई गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम उक्त ठेकेदार कम्पनीसँग गरिएको भवन निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने, कालोसूचीमा राख्नेदेखि धरौटी असुल गर्नेलगायतका प्रक्रिया अघि बढाउनुपर्ने सरोकारवालाको माग छ ।

Suzuki New Bike & Scooter

कन्ट्र्याक्टर कम्पनीले ढिलाइ गरेको, तर एकपटक नियमानुसार म्याद थप्दा पनि काम नगरे ठेक्का तोडेर कालोसूचीमा राखिने लामाले बताए । स्वास्थ्यचौकी भवन अलपत्र भएकाले बिरामीलाई उपचार सेवा दिन निकै कठिनाइ भएको राम्चे स्वास्थ्यचौकी प्रमुख ढकालले बताए । समयमा स्वास्थ्यचौकी भवन निर्माणमा कन्ट्र्याटर कम्पनीले ढिलाइ गरेको विषयमा ध्यानाकर्षण गराएको कालिका गाउँपालका– १ का वडाध्यक्ष दावा तामाङले बताए । त्यसैगरी, उत्तरगया गाउँपालिका– ३ को ठूलोगाउँ आमाछोदिङ्मो गाउँपालिका– १ को हाकु, गोसाइँकुण्ड गाउँपालिका– ५ को स्याफ्रुबेँसी स्वास्थ्यचौकी सोही कम्पनीले निर्माण थालेकोमा अलपत्र रहेकाले सेवा प्रवाहमा समस्या भएको हो । सम्झौता गरेर काम थाले पनि दुई वर्षदेखि काम अधुरो छाडेर भागेको स्थानीय बताउँछन् । ‘हाकुमा निर्माणाधीन स्वास्थ्यचौकीको एक ढलान गर्न बाँकी रहेको छ । पुरानो प्रिफ्याव भवनबाट सेवा दिन समस्या छ । स्याफ्रुबेँसी स्वास्थ्यचौकी भवन निर्माण अलपत्र छाडेर कन्ट्र्याक्टर कम्पनी सम्पर्कमा छैनन्,’ गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले भने, ‘सम्झौता गरेको चार वर्ष भयो, ८० प्रतिशत काम गरेको छ । भवनमा रङ, शौचालय, विद्युत् वायरिङ, मार्बलजस्ता काम बाँकी रहेको छ । जिम्मेवार निर्माण व्यवसायी ६ महिनादेखि सम्पर्कमा छैनन्, गत वर्ष दुई/चार दिन काम गरेको देखिन्थ्यो । कतिबेला आउने–जाने थाहा नै हुँदैन ।’ गत वर्ष म्याद थपे पनि अझै काम सम्पन्न भएन ।

ठूलोगाउँ स्वास्थ्यचौकी भवन ०७७ सालमा बनाउन सुरु भएको र अधुरो छाडेको दुई वर्ष भयो । स्वास्थ्यचौकीका सिअहेव कृष्ण भण्डारीले भने, ‘पुरानो भवनबाट दैनिक स्वास्थ्य उपचार सेवा प्रवाह गर्न निकै कठिन भइरहेको छ ।’ आफूले प्रमुख जिल्ला अधिकारीसमक्षसमेत गुनासो गरेको कालिका गाउँपालिका– १ का वडाध्यक्ष दावा तामाङले बताए । ‘धेरै ठाउँमा ठेक्का पारेको, तर सबैतिर काम अलपत्र बाँकी राखेका छन् । ठेकेदार सम्पर्कमा नआएको सात महिना भयो,’ तामाङले भने । आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि भवन निर्माण अलपत्र भएपछि नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार प्रभावित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह