रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै

  • त्रिशूली प्रवाह
  • ३ जेष्ठ २०८१, बिहीबार १३:००

धुन्चे, चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न जाने यात्रु तथा पर्यटक आउन थालेपछि रसुवागढी नाकामा चहलपहल बढ्न थालेको छ । ल्हासा घुम्न हिँडेका पर्यटक हेलिकोप्टरबाट टिमुरे र रसुवागढीसम्म बस तथा निजी सवारीसाधनद्वारा मानसरोवर जाने तीर्थयात्रु बढ्न थालेपछि सुनसान रहेको रसुवागढी तथा घट्टेखोला क्षेत्रमा दैनिक चहलपहल बढ्दै गएको हो ।

व्यावसायिक क्षेत्रका व्यापारीको आवागमन कमी भइरहेको अवस्थामा मानसरोवरको यात्रा सुरुवातले स्थानीयको व्यापार–व्यवसायमा समेत केही अभिवृद्धि भएको छ । व्यवसायी आगमन कम हुँदा व्यापार कम भइरहे पनि दुई हप्तादेखि दैनिक मानसरोवर दर्शन गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढिरहेको घट्टेखोलाका होटेल व्यवसायी सुनवाङ्दी तामाङले बताए । स्थानीय होटेल व्यवसायी एवम् पूर्ववडाध्यक्ष दावा तामाङले पनि मानसरोवर र ल्हासा आउने पर्यटक तथा धार्मिक तीर्थयात्रीले गर्दा स्थानीयको व्यापार–व्यवसाय केही हदसम्म बढेको बताए । कोरोनाको विश्वव्यापी फैलावटका कारण थलिएको व्यापार–व्यवसायले अहिले गति लिएको छ । रसुवागढी नाका, मानसरोवर र ल्हासा जाने तीर्थयात्री र पर्यटकको कारणले केही आशा जगाएको अर्का होटेल व्यवसायीले पदम रुम्बाले बताए ।

टिमुरेको घट्टेखोलामा रहेको अध्यागमन कार्यालयमा भिसाको अभिलेख राख्नका लागि घुइँचो लाग्न थालेपछि घट्टेखोलाबाट रसुवागढी मितेरी पुलसम्मको करिब एक किलोमिटर क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन् । मानसरोवर यात्राका लागि ५० जना नेपाली त्यसतर्फ प्रस्थान गरिसकेका र ल्हासाको अवलोकन भ्रमणका लागि ६ सय विदेशी पर्यटक भिसामार्फत रसुवागढी नाकाबाट चीन प्रस्थान गरिसकेका रसुवागढी अध्यागमन कार्यालयका कार्यालय प्रमुख मुरारी निरौलाले जानकारी दिए । उनका अनुसार ल्हासा भ्रमण गर्न जानेमा भुटान, रसिया, युक्रेन, सर्विया, फ्रान्स, अमेरिकालगायत विभिन्न देशका नागरिक रहेका छन् । पर्यटकलाई हेलिअल्टिच्युट तथा डाइनेस्ट्रीलगायत कम्पनीका हेलिकोप्टरले रसुवागढीस्थित घट्टेखोला पु¥याएको अध्यागमन कार्यालयले जनाएको छ । धार्मिक तथा घुम्ने पर्यटकको यात्रा सहज पार्न भिसा प्राप्त यात्रु तथा पर्यटकलाई तत्काल अध्यागमन कार्यालयले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी अनुमति दिने गरेको प्रमुख निरौलाले जानकारी दिए । वसन्त ऋतुको मध्यदेखि सुरु भएको मानसरोवर तीर्थयात्रा भने शरद ऋतुको मध्यसम्म सञ्चालन हुने र भक्तजनको ओहोर–दोहोर भइरहने स्थानीयले बताएका छन् ।