राप्रपा विदुर नगर अध्यक्षद्वारा पार्टी परित्याग

  • त्रिशूली प्रवाह
  • ३ जेष्ठ २०८१, बिहीबार १३:०६

त्रिशूलीबजार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विदुर नगरपालिका कमिटीका अध्यक्ष प्रकाश जोशीले गत हप्ता प्रेस विज्ञप्ति प्रकाशित गरेर उक्त पार्टी परित्याग गरेका छन् ।

हिन्दु राष्ट्र र सङ्घीयता खारेजलगायत एजेन्डालाई राप्रपाले जनस्तरसम्म लैजान नसकेकाले पार्टी नगर अध्यक्ष परित्याग गरेको जोशीले बताएका छन् । राष्ट्रका लागि राप्रपाले जनस्तरसम्म लैजान नसकेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी नगर अध्यक्ष पद परित्याग गरेको जोशीले जानकारी दिएका छन् । राष्ट्रका लागि राप्रपाले अघि सारेको हिन्दु राष्ट्र र सङ्घीयता खारेजलगायतको एजेन्डा सही भए पनि पार्टीको सङ्गठन कमजोर रहेकाले तत्कालै खारेज सम्भव नदेखेकाले पार्टी परित्याग गरी स्वतन्त्र रूपमा व्यवसाय गर्दै सामाजिक क्षेत्रमा लाग्ने उनले बताएका छन् । विज्ञप्तिमार्फत पार्टी छाडेका जोशी राप्रपाको तर्फबाट गत स्थानीय तह ०७९ को निर्वाचनमा विदुर नगरपालिका-१ को अध्यक्ष पदका प्रत्याशी उम्मेदवार बनेर लोकप्रिय मत प्राप्त गरेका थिए । ०५६ देखि राप्रपामा आबद्ध हुँदै आएका जोशी ०६१ मा तत्कालीन ज्ञानेन्द्र शाह नेतृत्व सरकारले मनोनीत गरेको विदुर नगरपालिका-१ का वडाध्यक्षसमेत हुन् । विभिन्न सङ्घ-संस्थाको नेतृत्व सम्हालिरहेका जोशी टिमुरे यातायात प्रालिका अहिले अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।