Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

स्रष्टाको पदयात्रा अनुभव

स्रष्टाको पदयात्रा अनुभव
त्रिशूली प्रवाह
१ साल अगाडी
  • शीतल गिरी

अवरोध पदयात्रामा पनि हुन सक्छ । ०७५ साउन ४ गतेको पदयात्रामा यस्तै भोगियो । साहित्यकारले सोखले पदयात्रा गरेका हुन्छन् । अर्कातिर व्यक्तिको स्वार्थ पनि हुन सक्छ । यी दुवै कुरामा अन्तर छ ।

यस यात्रामा लोककवि श्रीराम पौडेलले एक्लै केही घण्टा टौदहमा हाम्रो बाटो कुर्नुपर्यो । पहिलेको सूचनाअनुसार टौदहबाट यसपटकको पदयात्रा थालनी गर्ने भन्ने थियो । सूचनाले बल्खुबाट नै पदयात्रा गर्ने जानकारी गराइएको थियो । सम्पर्कका अभावले यस्तो हुन गयो – एक्लै बिहानपख टौदहमा सूर्य नुहाउँदै गरेको हेरेर बिताउनुपर्यो पौडेलजीले ।

हो, हामी डिल्लीराज अर्याल, डा. ध्रुवकुमार घिमिरे, नारायण जनकपुरी, डिल्लीरमण सुवेदी र मैले बल्खुबाट पदयात्रा प्रारम्भ गरेका थियौँ । आदिनाथ मन्दिरमा पुग्यौँ । बन्दै गरेको मञ्जुश्रीको विशाल मूर्ति देखेर रमायौँ । जलविनायक पनि पुगेका थियौँ ।

एक दिनअघि याने कि ३ गते सम्पूर्ण पदयात्री बल्खुचोकमा आइपुग्न सूचना जारी गरेको थिएँ । सो सूचना हेर्न भ्याउनुभएनछ पौडेलजीले । आश्चर्य । स्रष्टा पदयात्रामा आ–आफ्ना क्षेत्रमा पहिचान बनाएका साहित्यकार सहभागी छन् – कहिले यो सङ्ख्या ठूलो हुन्छ, कहिले सानो, तर पनि पदयात्रा निरन्तर अघि बढ्दै आज ०७६ को दसैँसम्ममा ३५औँँ यात्रा सफलतासाथ सम्पन्न गरिसकेका छौँ । बल्खुबाट हामी पाँचजना पदयात्रा गर्दै कविताबारे विवेचना गर्दै चोभार गेटमा पुगेका थियौँ । हिँड्दै, उकालो उक्लिँदै जाँदा आदिनाथ मन्दिरमा पुगेको क्षण भने सुखद रह्यो । किनभने यो यही ठाउँ हो जहाँ रोगग्रस्त महाकवि देवकोटालाई हावापानी परिवर्तन निमित्त ल्याएर राखिएको थियो । काठमाडौं उपत्यकाको पश्चिम-दक्षिणतर्फको यो डाँडो युवा पुस्ताका लागि रमाइलो गर्ने ठाउँ हुन सक्छ । तर, यो डाँडो नाथ सम्प्रदाय (शैव सभ्यता) र बौद्धहरूका तीर्थस्थल हो । हिन्दु र बौद्ध धर्मावलम्बीको यस मन्दिरमा एक महिना लामो धार्मिक मेला लाग्दै आएको छ प्रत्येक वर्ष । तर, हामीले यस यात्रामा यहाँको बाटो मात्र प्रयोग गरेका हौँ, यहाँको इतिहास खोतलेनौँ, मन्दिर र वरपर गाउँघर हेर्दा राम्रो लाग्यो ।

सामान्यतः हामी एक दिनको पदयात्रा गर्छौँ । पदयात्राका क्रममा सिर्जना र प्रस्तुतीकरणमा सुधार ल्याउन प्रयास गर्छौँ । स्रष्टा पदयात्राको आशय पढेरभन्दा आफ्नै अनुभवले लेखिएको साहित्य स्पष्ट हुन्छ भन्ने पनि हो । वर्तमान समयमा लेखिँदै गरेका साहित्यभन्दा पहिले साहित्यकार र जीवनयापन, अनि साहित्यकार र व्यवसायी, यिनीहरूका सम्बन्धका प्रश्न मेरो मनमा उठ्ने गर्छ । पदयात्रा गर्दा थाकिन्छ, जिउ त दुख्छ, शरीरलाई कष्ट दिएर कस्तो ज्ञान प्राप्त हुन्छ, पदयात्रा गर्न प्रेरणा दिने तत्व के हो, यो कुरा अझ पनि निर्धक्क म भन्न सक्दिनँ । मैले थाहा पाएको छैन, तर पदयात्राको आफ्नै किसिमको आनन्द भने छ । फेसबुकमा पढ्न पाइन्छ कतिपयको गुनासो – कविताको किताब प्रकाशकले छाप्दैनन्, व्यक्तिले छपाएको बिक्री नै हँुदैन । सोचविचार नगरी लहडका भरमा पुस्तक छपाउनेले यदि केही हजार रुपैयाँमा साहित्यको राम्रा पुस्तक किनेर गहन अध्ययन गरेमा यसबाट पठन संस्कृतिमा केही ऊर्जा प्राप्त हुन्छ कि हुँदैन, यस्तो पनि प्रश्न मेरो मनमा खेल्ने गरेको छ । प्रकाशक र साहित्यकार आज हामीकहाँ अलग–अलग कित्तामा उभिएको जस्तो लागेको छ । पुस्तक व्यवसायी सेवाका लागि नभएर सुरक्षित साथ व्यापार गर्न चाहन्छन्, जुन पुस्तक छाप्दा सजिलै बेच्न सकिन्छ । हो, त्यसैलाई प्राथमिकतामा राखेर व्यापार चलाइरहेका छन् । केही कल्पनाको रस र रङ मिसिएको पुस्तक होस् । यथार्थमा जो सहजै बेच्न सकियोस्– हो पुस्तक व्यवसायीले यस्तो खोज्ने गर्छ । पाठकका मनमा बस्न सकेको लेखकसँग पुस्तक व्यवसायीको सम्बन्ध गहिरो रहन्छ, आफ्नो लगानी खेर जाँदैन भनेर ढुक्क हुन्छ ।

यो उचित होइन । प्रश्न वास्तवमा नयाँ, तर राम्रो लेख्ने सर्जकलाई प्रोत्साहन गर्न व्यवसायी कहिलेदेखि लाग्छन्, त्यो मुख्य हो । सिर्जना गर्ने प्रत्येक सर्जक आफ्नो सिर्जना बजारमा पुगोस् भन्ने चाहन्छ, यसकारण सर्जक आफ्नो सिर्जना बजारमा लैजाने माध्यम पुस्तक व्यवसायी खोज्ने गर्छ ।
ए म त बहकिएँ छु, पदयात्राबारे लेख्दै थिएँ । नेपालीका सहकालको देवता मत्स्येन्द्रनाथका गुरु आदिनाथ याने कि भगवान् शिवको मन्दिर । यहाँ हामीले घुमी–घुमीकन हे¥यौँ, २०७२ को भुइँचालोको असर यत्रतत्र थियो । मन्दिर पुनर्निर्माण पनि हुँदै थियो । यहाँ भाकल गर्नेले भाँडाकुँडा मन्दिरपरिसरका भित्तामा किला ठोकेर चढाएको दृश्य अनौठो लाग्छ । अनि हामी मन्दिरको पूर्वतर्फको गेटबाट निस्किएर दक्षिणतर्फ ओरालो लाग्छौँ । चोभारका चौरमा मञ्जुश्रीको विशाल मूर्ति बन्दै गरेको पाउँछौँ । केही क्षण अडिएर हेर्न थाल्छौँ । अनि हामी चोभारको फूलबारीमा पुग्यौँ र सूक्ष्म रूपमा फूलका साथै अहिले बन्द गुफा नियाल्न थाल्छौँ । अनि भुइँचालोले ध्वस्त बनाएको जलविनायक दर्शन गरेर टौदह पुग्छौँ जहाँ हामीलाई स्रष्टा पदयात्री पौडेल पर्खेर बसिरहेका थिए ।

खाजा खाने समय भइसकेको थियो । टौदहको माछा अवलोकन गर्दै उपयुक्त स्थानको खोजीमा लाग्यौँ हामी । पश्चिमोत्तरतर्फको विश्रामस्थल अन्यभन्दा सफा, नजिकै पानीको सुविधा भएकाले त्यहीँ आसन जमायौँ । खाजाका रूपमा हामीसँग पदयात्रा गर्दा कसले के लिएर आउने भन्ने जानकारी गराइएको हुन्छ । वास्तवमा भन्ने हो भने स्रष्टा पदयात्राको अनुभूति अद्भूत मात्र होइन, हरेक यात्रा सधैँ नयाँ हुने गरेको छ । यसै कारण यसका शृङ्खला थपिँदै गएको हो । यो कहिल्यै पुरानो नहुने गरी अद्भूत छ, नयाँपनले गर्दा टिकाउ छ । स्रष्टा पदयात्रीको अद्भूतताप्रति आकर्षण रहेको छ र रहने नै छ । तर, यस आकर्षणमा स्रष्टाबीचको घनिष्ठतामा दरार आउन नपाओस् भन्नेतर्फ सचेत पनि छ । जहाँ एक–अर्काबीच दूरी बढ्छ, त्यहाँ आत्मीयता सम्भव हुँदैन । यस कारण स्रष्टा पदयात्रा नवीन परम्पराको एक उदाहरण हो । नवीनताको प्रेम नवीन होइन, एकदम पुरातन हो । स्रष्टा पदयात्रालाई ज्ञानमूलक बनाइएको छ । ज्ञानमूलक बनाउनाको अर्थ समयसापेक्ष बनाएर महत्वबोध गराउनु हो । ज्ञानमूलक नभएका कतिपय कुरा समयको गर्तमा डुबेर हराउन पुग्छ । दीर्घजीवी त्यस्तो हुन सक्दैन, जो आफ्नै लागि मात्र बाँचेको हुन्छ । यसरी विचार गर्दा साहित्य जहिले पनि जीवनवादी हुनुपर्छ नयाँपनका साथमा । कुनै पनि नयाँ कुरो आफ्ना बलबुतामा मात्र अड्न सक्दैन । जब त्यो आलोचनाको अचानामा तर्कको बलमा काटिनबाट बच्छ, तब त्यसमा भएको, रहेको गतिले आफ्नो स्थान सुरक्षित पार्छ ।

हरेक बिहान नयाँ हुन्छ, हरेक सृष्टि नयाँ हुन्छ । यस कारण स्रष्टा पदयात्राको नयाँपन गतिशील छ र यसैमा निर्भर पनि । यसो भन्न सकिन्छ, पदयात्री आउने–जाने क्रम चलिरहन्छ, यही चल्नु याने कि गति नै पदयात्राको अभिव्यक्ति हो । टौदह अवलोकनपश्चात् खाजा खाइवरी हामी बजारमा निस्किएका थियौँ । सानो बजार घुमी दही किनेर ह्वाइटहाउस जान पश्चिमतर्फको उकालो पक्की बाटो लागेका थियौँ । बाटामा हामीले विदेशी पर्यटक पर्याप्त भेटेका थियौँ, स्थानीयवासीसँग भलाकुसारी गर्दै उकालो उक्लँदै थियौँ । यस यात्रामा बल्खुदेखि सहज बाटो हिँडिएको थियो । अहिले उकालो बाटो फेला प¥यो । सजिलाबाट अप्ठ्यारा बाटामा हिँड्न साह्रै असहज हुँदोरहेछ । एकपटक त लागेको थियो– जनकपुरीजी आजको यात्रा पूरा गर्न सक्दैनन् । हाम्रो हिँडाइमा एकरूपता हुन सकेन– सुवेदी, डा. घिमिरे र पौडेल अघिअघि निकै टाढा थिए भने उकालोबाट गलित जनकपुरीका साथमा अर्याल र म थियौँ । संयोग पनि कस्तो, जनकपुरीजीलाई एक्लै छाड्न पनि भएन, अँ उहाँलाई विश्राम गराउँदै केही समय हिँडाउँदै, पुनः आराम गराउँदै गर्दा म स्वयम् बेस्सरी थाकेको अनुभूति भयो । पदयात्रामा बिस्तारै नरोकिएर यात्रा गर्दा थाकिँदो रहेनछ । केही बेर बसेपछि भने नौनाडी गलाउने गरी थकाइ लाग्यो । तर, हामी सुस्तरी पाइला चलाउँदै ह्वाइटहाउसमा पुग्यौँ । यो के ह्वाइटहाउस भनेको त डाँडामा रहेको रेस्टुरेस्ट रहेछ, खासमा डेटिङमा भुल्ने युवा जोडी बाइक गुडाउँदै आउँदा रहेछन् । त्यही देखियो । अग्लो डाँडाबाट चारैतिर टाढा–टाढासम्म देख्न सकिन्छ । सिरसिर हावा चलिरहन्छ । हरियालीयुक्त एकान्त स्थान । विशेष गरेर युवा जोडीको डेटिङस्थलका रूपमा नाम कमाएको । ह्वाइटहाउस नाम सुनेका भरमा यो स्थान स्रष्टा पदयात्राको रूट बन्न गएको थियो । हामी डाँडामा पुग्यौँ अर्थात् चाहेको ठाउँमा पुग्न सक्यौँ । यस डाँडाको पनि उत्तरतर्फको थुम्कामा खानेपानीको रिजर्भ ट्याङ्की बनाइएको छ । यहाँ आइसकेपछि त्यहाँ नपुग्ने त कुरै भएन । स्रष्टा पदयात्रीको पाइला त्यहाँसम्म पुग्न पनि सम्भव भयो । अनि हामी गएकै बाटैबाटो ओरालो ओर्लिन थाल्यौँ । स्पष्ट छ– सो डाँडाको पूर्वतर्फबाट बाटो बनेको हुँदा यहाँबाट टौदहलगायत स्थान छर्लङ्ग देख्न सकिन्छ । हामी जब उकालो चढ्दै थियौँ– तल निकै तल एउटा मृग देखिएको थियो ।

चिडियाखानामा पिँँजडामा बन्द जनावर नजिकबाट हेर्नाको र यात्रा गर्दा वनमा प्राकृतिक रूपमा रमाइरहेका जनावर टाढाबाट भए पनि देख्नाको अनुभूति एकै हुन सक्दैन । चिडियाखानामा जहिले गए पनि देख्न पाइन्छ, तर यात्रा गर्दा देख्नु भनेको द्वितीयाको चन्द्रमा देख्नुसरह न हो । आज हामीसँग प्रशस्त समय रहेकाले तल फेदीको गाउँमा आइसकेपछि जङ्गलको बाटैबाटो दुधपोखरी जाने कार्यक्रम बनाउन पुग्यौँ । अनि हामी गाउँको बीच भएर हिँड्न थाल्यौँ । आज हामीलाई प्रकृतिले साथ दिएन, हामी २० मिनेटजति मात्र के हिँडेका थियौँ, मुसलधारे पानी बर्सिन थाल्यो । पानी केही समय परेर रोकियो, तर त्यसको असर रातो माटो भएको बाटो चिप्लो भयो, हिँड्नै नसकिने गरी । अब भने बाध्यतावश हामीले यात्रा छोट्यायौँ । अनि हामीले पिच सडकको उत्तरतर्फ अलि पर रहेको रिमाल कुलको गणेश मन्दिरको प्राङ्गणलाई दिनको २ बजे स्रष्टा पदयात्राको काव्यभूमि बनायौँ । त्यहाँ हामीले केही स्थानीयवासीसँग बसेर दही, दालपुरी र रोटी पनि खाएका थियौँ । हिँडाइ थोरै भए पनि यात्रा सार्थक बन्यो । अर्याल, पौडेल, डा. घिमिरे, जनकपुरी, सुवेदीसहितले सिर्जना सुनाएका थिए । कार्यक्रमपश्चात् हामी पुनः पैदल यात्रामा सहभागी भयौँ । अनि टौदहमा आएर दिनको ३ः३० मा बस चढेर हामी आ–आफ्ना गन्तव्यतर्फ लाग्यौँ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह