चौघडा, नुवाकोटमै खरबुजा उत्पादन हुन थालेपछि तराई र भारतबाट आउने खरबुजा अहिले बन्द भएको छ । जिल्लामै उत्पादित ताजा सस्तोमा खरबुजा उपलब्ध भएपछि नुवाकोटका फलफूल पसल नुवाकोटमै फलेका खरबुजाले भरिएका छन् ।
जिल्लाबाहिरबाट आउने खरबुजा ताजा र रसिलो नहुने, मूल्य पनि महङ्गो पर्ने भएकाले जिल्लामै उत्पादित खरबुजाको माग बढेको विदुर चोकका फलफूल पसले कृष्ण डङ्गोलले बताए । जिल्लाबाहिरबाट आउने खरबुजामा विषादी प्रयोग र सुई लगाइएको पाइएकोले उपभोक्ताले जिल्लाकै खरबुजा खोज्ने गरेकोसमेत उनले बताए । जिल्लामै उत्पादित खरबुजा ३० देखि ४० प्रतिकेजीमा खरिद, बिक्री हुने गरेको छ । तर, बाहिरबाट आएको खरबुजा प्रतिकेजी ६० रुपैयाँभन्दा बढी पर्ने गरेको फलफूल व्यवसायीले बताएका छन् । जिल्लाको पञ्चकन्या गाउँपालिकाको बानियाँटार, सिमराफाँट र चौघडाफाँटमा हरेक वर्ष माघमा आलु खनेर खरबुजाको बिरुवा रोप्ने गरिएको कृषि प्राविधिक भुवन तिमिल्सिनाले बताए । यस क्षेत्रका कृषक हिउँदे धान लगाउन छाडेर नगदे बालीको रूपमा रहेको खरबुजा खेतीमा विगत दुई वर्षदेखि आकर्षित भइरहेका छन् । सिमराफाँटमा मात्र यस वर्ष एक लाख बखरबुजाको बिरुवा रोपिएको स्थानीय रामकुमार राईले बताए । रामकुमारसँगै टीकाबहादुर राई, रत्नबहादुर राईसहित ३० जनाले खरबुजा रोपेका थिए । उनीहरूलाई अहिले खरबुजा बिक्री गर्न भ्याई-नभ्याई भइरहेको छ । जिल्लामा यस वर्ष बाहिरको खरबुजा कमै आएको लक्ष्मी फलफूल सेन्टर विदुरका मोतीलाल दुलालले बताए । चौघडामा २५ किलोको खरबुजा फलेको देखेर नुवाकोट उद्योग वाणिज्यका पूर्वअध्यक्ष धननारायण चित्रकारले दङ्ग पर्दै भने, ‘गरे के नहुने रहेछ र ?’