
- रमेश सिलवाल
ढुङ्गे, नुवाकोट, विदुर नगरपालिका-१ को धोबीखोला र त्रिशूली बजारस्थित नेपाल विद्युत् प्राधिकरण विद्युत्गृह प्रवेशद्वार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको पक्की पुल असारसम्ममा सञ्चालन गर्ने गरी तीव्र रूपमा काम भइरहेको छ ।
जिल्लाकै पहिलो जलविद्युत् परियोजना त्रिशूली जलविद्युत् केन्द्र निर्माणका क्रममा ०२० सालमा बनेको पुल जीर्ण भएपछि सँगै नयाँ पुल निर्माण भइरहेको हो । ६ दशकअघि जलविद्युत् केन्द्रका लागि निर्माण सामग्री ओसारपसार गर्न बनेको पुल अहिले जीर्ण र कुनै पनि समय दुर्घटना हुन सक्ने अवस्थामा रहेको स्थानीय समाजसेवी कुलबहादुर खड्गीले बताए । पुरानो पुल अत्यधिक भारवहन र समयक्रमसँगै जीर्ण भएर दुर्घटनाको जोखिम बढेपछि त्यसलाई यथावत् राखेर नजिकै नयाँ पुल निर्माण भइरहेको विदुर-१ का वडाध्यक्ष लेनिन रञ्जितले जानकारी दिए । नयाँ पुलको निर्माणपछि दुर्घटनाको जोखिम हट्नाका साथै ‘साँघु बजार’ क्षेत्रमा आवागमनमा सहज हुनेसमेत देखिएको छ । करिब रु. आठ करोडको लागतमा निर्माणाधीन ६० मिटर लामो र ११ मिटर चौडा दोहोरो लेनको उक्त नयाँ पुल बक्स कडर प्रिस्टेस प्रविधिमा निर्माण भइरहेको हो ।
‘डिजाइन एन्ड बिल्ड मोडल’मा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको पुल महाशाखा काठमाडौंअन्तर्गत सेक्टर-२, ललितपुरका संयोजनमा निर्माण भइरहेको छ । आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ०७९ सालदेखि निर्माण थालिएको सो पुलको हाल ९५ प्रतिशत निर्माण पूरा भइसकेको निर्माण कम्पनी हिमडुङ एन्ड थोकर/गणेशकुण्ड निर्माण कम्पनी जेभीका राजेन्द्र थपलियाले जानकारी दिए । ‘नयाँ पुल निर्माण सम्पन्न भएको छ, यसबाट त्रिशूलीबजार क्षेत्रको ट्राफिक जामको समस्या कम हुने अपेक्षा छ,’ स्थानीयवासी नरेश जोशीले भने ।