
पहिरेबेँसी, नुवाकोट–रसुवा भएर बग्ने त्रिशूली नदी विद्युत् उत्पादनको केन्द्र बनेपछि यस क्षेत्रमा दर्जनौँ विद्युत् कम्पनीले उत्पादन गर्ने बिजुली राष्ट्रिय प्रसारणमा जोड्न सबस्टेसन निर्माणलाई नेपाल विद्युत् प्राधिकरणले प्राथमिकतामा राखेको छ । यस क्षेत्रमा उत्पादित बिजुली केन्द्रीय प्रसारणमा जोड्ने चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेँसीमा निर्माण गरिएको त्रिशूली ३ बी हब २२०/१३२/३३ केभी सबस्टेसन उद्घाटन शुक्रबार सम्पन्न भएको छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसन पनि उद्घाटन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगका अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जो, जर्मनेली राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक (इआइबी)का निर्देशक थौउराया ट्रिकीले संयुक्त रूपमा त्रिशूली ३ बी हब र भाल्चे सबस्टेसन उद्घाटन गरे । करिब एक सय चार रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली ३ बी हब सबस्टेसनको लागत रु. एक अर्ब ९७ करोड छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारणलाइनबाट त्रिशूली ३ बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री ‘बी’ हब–भाल्चे ३३ केभी प्रसारणलाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत रु. ४२ करोड ९३ लाख छ । नुवाकोट र रसुवा जिल्लाका प्रसारणलाइन र सबस्टेसनबाट प्रभावित तथा आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । यसबाट नुवाकोट र रसुवाका दुई हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
उद्घाटन समारोहमा मन्त्री बस्नेतले त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि मात्र नभएर देशको समग्र विद्युत् प्रणाली व्यवस्थापनका लागि सबस्टेसन निर्माणबाट महत्वपूर्ण पाइला थपिएको बताए । आगामी १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन, प्रसारण र वितरणका क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत, कानुनी र संरचना सुधार सुरु गरिसकिएको बताउँदै मन्त्री बस्नेतले प्राकृतिक स्रोतमा प्रभावित क्षेत्रका बासिन्दालाई हिस्सेदार बनाउने गरी आयोजना अगाडि बढाइएको स्पष्ट गरे । उनले जलविद्युत् क्षेत्रमा सरकार, स्थानीय समुदाय, वैदेशिक र निजी क्षेत्रका लगानीलाई समन्वयात्मक रूपमा अगाडि बढाइने पनि जानकारी दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको हरित ऊर्जाको दिगो विकासका लागि यस क्षेत्रको पूर्वाधारमा लगानी गर्न इयू र यसका सदस्य राष्ट्रलाई आग्रह गरे । उनले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधारमा करिब ४६ अर्ब अमेरिकी डलर आवश्यक पर्ने भएकाले लगानीका लागि अनुरोध गरे । आयोजनाका निर्देशक थर्कबहादुर थापाले सबस्टेसनबाट नेपालको समग्र विद्युत् प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए ।
उद्घाटन कार्यक्रममा रसुवा र नुवाकोटका जनप्रतिनिधि, प्रशासक, स्थानीयवासी र सरोकारवाला पक्षको सहभागिता थियो । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको थम्बुचेतस्थित चिलिमे हब २२० केभीदेखि त्रिशूली ३ बी हबसम्मको २८ किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइन र चिलिमे हब २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । अनुमानित लागत र ६ अर्ब १९ करोड रहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) तथा इयूको अनुदान सहयोग छ । इयूले स्थापना गरेको इआइबीले आयोजनामा सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।
त्रिशूली र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र चिलिमे तथा त्रिशूली ३ बी हब सबस्टेसन निर्माण गरिएको हो । प्रसारणलाइन तथा सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ । कुल २८ किलोमिटर प्रसारणलाइनमा पर्ने ७५ टावरमध्ये ७० वटाको जग हालिएको छ । बाँकी पाँच टावरको आंशिक जग हालिएको छ । साठी टावर खडा गरिएको तथा १० वटाको काम धमाधम भइरहेको छ । १५ किलोमिटर तार तानिएको तथा खडा गरिएका अन्य टावरमा पनि तार तान्ने काम भइरहेको छ । चिलिमे–त्रिशूली ३ ‘बी’ हब प्रसारणलाइनअन्तर्गत चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली ३ ‘बी’ हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । प्रसारणलाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्न मल्टी सर्किट लाइन बनाइएको हो । माथिल्लो त्रिशूली– १ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम व्यहोर्नेछ ।