नेका क्षेत्रीय सम्मेलन सम्पन्न

नुवाकोटबाटै चुनाव लड्ने डा.महतको घोषणा

  • त्रिशूली प्रवाह
  • १० जेष्ठ २०८१, बिहीबार ०९:१४

रानीपौवा, नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेशसभा ‘ख’ को क्षेत्रीय सम्मेलन ककनी गाउँपालिकाको रानीपौवा बजारमा शनिबार सम्पन्न भएको छ । सम्मेलनमा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नुवाकोट जिल्लाबाटै आगामी निर्वाचनमा चुनाव लड्ने घोषणा गरे ।

प्रदेश समितिका सभापति रामजी पौडेलका सभापतित्वमा भएको सम्मेलनमा पूर्वमन्त्री डा महतले आफ्नो गृहजिल्ला छाडेर अन्तबाट चुनाव नलड्ने स्पष्ट गरे । विसं २०५० देखि आफ्ना सहोदार दाजु डा रामशरण नुवाकोट क्षेत्र नं २ (हालको क्षेत्र नं १) बाट निर्वाचन लड्दै आएकाले भाइले अवसर पाएका थिएनन् । अब उनका दाइ पछिल्लो समय स्वास्थ्यका कारण निर्वाचन नलड्ने भएपछि भाइ उक्त क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेका छन् । गत २०७९ का निर्वाचनमा नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन हुँदा उक्त क्षेत्र कांग्रेसले माओवादी केन्द्रलाई छाड्नपरेको थियो । “निर्वाचन लड्ने अवस्थामा मेरो घर नुवाकोट हो, म यहीँबाट नै निर्वाचन लड्ने हो”, पूर्वऊर्जामन्त्रीले भने । पूर्वपरराष्ट्रमन्त्री डा महतले आफू निर्वाचन लडे पनि नलडे पनि जिल्लाका विकासमा लागिरहेको जिकिर गर्दै भने, “म पदमा रहँदा होस् नरहँदा होस्, राजनीतिमा रहँदासम्म जिल्लाका लागि काम गरिरहने छु । अरू निर्वाचन लड्न आउँदा काम गर्नेछु भन्छन्, म काम गरेर निर्वाचन लड्न खोजिरहेको छु ।” उनले आफू अर्थमन्त्री हुँदा नुवाकोटको विकासका लागि धेरै काम गरेको जिकिर गर्दै त्यसको प्रचार गर्न कांग्रेसबाट नै कन्जुस्याइँ भएको विचार राख्नुभयो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले पार्टी बलियो बनाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । सङ्घीय सांसद् सीता मिजार, प्रदेशसभा सदस्य तथा कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत र जिल्ला उपसभापति तथा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, कांग्रेस नुवाकोटका पूर्वसभापति धु्रवप्रसाद अधिकारी, क्षेत्रीय सभापति तथा लिखु गाउँपालिका अध्यक्ष धु्रव श्रेष्ठ, महिला सङ्घका केन्द्रीय सदस्य कल्पना नेपाली, कांग्रेस महासमिति सदस्य डा केदारनरसिंह केसी, प्रदेश सभापति बैकुण्ठ पाण्डे, कांग्रेस युवा नेता अर्जुन न्यौपाने, नेपाल किसान सङ्घका अध्यक्ष अजय पाठकलगायतले दलभित्र एकताको खाँचो औँल्याए । पार्टी केन्द्रीय समितिको निर्देशनानुसार ७७ वटै जिल्लामा जिल्ला, क्षेत्र, प्रदेश, नगर तथा गाउँ सम्मेलन आयोजना भइरहेको छ । नुवाकोटमा पनि गत महिनादेखि ती सम्मेलन गरेर सङ्गठन चलायमान बनाउने, कार्यकर्तालाई प्रशिक्षण दिने र विकास निर्माणको लेखाजोखा गर्ने काम भइरहेको जिल्ला सचिव बैकुण्ठ मिश्रले जानकारी दिए ।