
धुन्चे, रसुवा जिल्लाको उत्तरी भेग आमाछोदिङ्मो गाउँपालिका-५ थाम्बुचेतमा सञ्चालन भइरहेको हिमालयन इङ्ग्लिस आवासीय माविको २२औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपा एमालेका जिल्ला पार्टी सचिव पेम्बा तामाङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तामाङले विद्यालयको प्रशंसा गर्दै गत्लाङ, गोल्जुङ, चिलिमेलगायत यस क्षेत्रको विद्यालय शिक्षाको आवश्यकतालाई पूरा गरिरहेकोमा धन्यवाद दिए । एक सय ८० विद्यार्थी रहेको हिमालयन माविका विद्यार्थी आगामी वर्षदेखि एसइई परीक्षामा सहभागी हुने विद्यालयका संस्थापक एवम् प्रबन्ध–निर्देशक बालकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रमका विशेष अतिथि आमाछोदिङ्मो गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र आचार्यले पालिकाभरिको मूल्याङ्कनमा हिमालयन मावि उत्कृष्ट देखिएकोले गत शैक्षिक सत्रदेखि माध्यमिक तह सञ्चालनको अनुमति दिएको बताए ।