त्रिशूलीबजार, नुवाकोट, रसुवा र धादिङकै पहिलो सामुदायिक विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, विदुर नगरपालिका-१ त्रिशूलीको झन्डा सगरमाथामा फरफराइएको छ । सोही विद्यालयका पूर्वविद्यार्थी विदुर-१० गेर्खुटारका विवेक पाण्डेले सगरमाथा आरोहणमा सफलता हासिल गरेसँगै आफू पढेको विद्यालयको ध्वजा विश्वकै सर्वाेच्च शिखर सगरमाथामा फहराए । उनले आरोहणमा सफलता पाएसँगै सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गरेपछि स्कुलको तुल सगरमाथामा दोस्रोपटक फहराएको थाहा पाएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले बताए ।
पथप्रदर्शक पाण्डेले दुई वर्षअगाडि पनि विद्यालयको ब्यानर सगरमाथामा फहराएका थिए । राणाशासन अन्त्यसँगै २००७ सालमा स्थापित सो विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म एक हजार सात सय १३ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक महेन्द्र राउतले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिए ।