थाम्बुचेत-काठमाडौं प्रसारणलाइनको ९६ प्रतिशत काम पूरा

  • त्रिशूली प्रवाह
  • १७ जेष्ठ २०८१, बिहीबार १२:१५

धुन्चे, रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा पुर्याउन थाम्बुचेत–काठमाडौं राष्ट्रिय प्रसारणलाइन एवम् टावर निर्माण ९६ प्रतिशत पूरा भएको छ । उत्तरी रसुवाको साङ्जेन, रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो–४ थाम्बुचेतमा विद्युत् केन्द्र र थाम्बुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशूली हुँदै काठमाडौंसम्मको राष्ट्रिय प्रसारणलाइन निर्माण अघि बढाइएको हो ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाको एक सय ११ मेगावाट, तल्लो सान्जेनको ४२.५ र माथिल्लो सान्जेनको १४.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा पुर्याउन लागिएको हो । भौगोलिक विकटतायुक्त हाकु क्षेत्रको तिरू इलाकाका लागि आवश्यक सामग्रीलगायत सबै उपकारण ढुवानी भइसकेको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण महाशाखा प्रमुख थर्कबहादुर थापाले बताए । उनका अनुसार अबको एक महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।

रसुवाका डाँडापाखामा टावरको काम गराइरहेका आयोजना प्रमुख शुभारम्भविक्रम शाहका अनुसार ७६ मध्ये ६७ टावरको निर्माण पूरा भइसकेको छ । उनले ७२ किलोमिटर तार तान्नुपर्नेमा ४१ किलोमिटर पूरा भइसकेको जानकारी दिए । निर्माण सामग्री हेलिकोप्टर, खच्चर तथा मानिसद्वारा निर्माणस्थलमा पु¥याइएको छ । थाम्बुचेतस्थित विद्युत् जडान गर्ने मुख्य स्थानमा उपकरण जडान भई परीक्षण अगाडि बढिसकेको, आवास र पाले पहरा तथा प्राविधिक बस्ने आवास, कार्यालय भवनजस्ता पूर्वाधारको संरचना निर्माणको प्रगति अन्तिम चरणमा पुगेको जनाइएको छ ।

हाल रसुवागढी आयोजनाले तयार गरेको बिजुली खेर गएको छ । उक्त आयोजनाले विद्युत्गृहमा सबै उपकरण जडान गरी प्रसारणलाइनको प्रतीक्षामा रहेको प्राविधिकले जानकारी दिएका छन् । सान्जेन आयोजनाले भने उपकरण जडानको काम गरिरहेको र काम सम्पन्न गर्न अब एक महिना लाग्ने जनाएको छ । आयोजनाका वातावरणविज्ञ उमेश पाठकले टावर र प्रसारणलाइन निर्माण सम्पन्न नभएका कारण जडान बिस्तारै अगाडि बढेको बताए । आयोजना सम्पन्न गर्न संशोधित लागत अनुमान रसुवागढीका लागि लागत रु. १८ अर्ब ४७ करोड र साङ्जेनका दुई आयोजनाका लागि रु. साढे १८ अर्ब खर्च हुने आकलन गरिएको छ । रसुवागढी आयोजनाका पूर्वप्रबन्ध निर्देशक माधवप्रसाद कोइरालाको डिजाइनबाट निर्माण भएको रसुवागढी आयोजनाले मुहानदेखि विद्युत्गृहसम्म सबै संरचना भूमिगत रूपमा निर्माण गरेको तथा साङ्जेनको तल्लो र माथिल्लो दुवै आयोजना अर्धभूमिगत रहेको प्राविधिकले जनाएका छन् । यस्तै, नयाँ निर्माण भइरहेको टावर तथा सबस्टेसनले रसुवागढी, साङ्जेनको अलावा अपरत्रिशूली वान, लाङ्टाङ खोला, भोटेकोसी, त्रिशूली थ्री ‘बी’, माथिल्लो मैलुङ, सुपर मैलुङ, फलाखु खोलामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा पठाइने योजनाले जनाएको छ ।