एमाले अधिवेशनको सरगर्मी बढ्दै

नेतृत्वका लागि आकाङ्क्षीको लर्को

  • त्रिशूली प्रवाह
  • १७ जेष्ठ २०८१, बिहीबार १२:२८

विदुर, नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटको आठौँ जिल्ला अधिवेशन यही जेठ २२ गतेदेखि सुरु हुँदै छ । अधिवेशनको मिति नजिकिँदै गर्दा एमालेका नेता÷कार्यकर्तामा सरगर्मी बढेको हो ।

जिल्ला कमिटीको १२औँ पूर्ण बैठकले पार्टीको जिल्ला अधिवेशनको खुलासत्र लिखु गाउँपालिका, ढिकुरे बजार र बन्दसत्र विदुर नगरपालिका-४ बट्टार, बाजेको सेकुवामा गर्ने निर्णय गरेको छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने एमाले नुवाकोटले जनाएको छ । अधिवेशनमा जिल्लाका भूगोल, जनसङ्गठन र विधानबमोजिमका निकायबाट पाँच सय ४३ जना अधिवेशन प्रतिनिधि शनिबार चयन भइसकेको जानकारी पार्टी जिल्लाध्यक्ष बद्रीप्रसाद मैनालीले दिए ।

उनका अनुसार अधिवेशनबाट एक सय चार पदाधिकारीसहित जिल्ला कमिटीका सदस्य चयन हुनेछन् । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई र एक सय सदस्य तीनवर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् । अधिवेशन सम्पन्न गर्न जिल्लाध्यक्ष मैनालीका संयोजकत्वमा एक हजार एक सदस्य मूल आयोजक समिति र १३ उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँट गरिएको पार्टी उपसचिव नीलकण्ठ आचार्यले बताए । उनका अनुसार राजनीतिक प्रतिवेदनलेखन उपसमितिका संयोजकमा अध्यक्ष मैनाली तथा सदस्यमा जिल्ला उपाध्यक्ष बुद्धिबहादुर प्रधान, जिल्ला सचिव सुदर्शन नेपाल, जिल्ला उपसचिव आचार्य, जिल्ला कमिटीका अरुणकुमार श्रेष्ठ, हरि अधिकारी, सुरज शेर्पा, पुरुषोत्तम प्याकुरेल र मुकुन्द नेपाल छन् ।

अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले जिल्ला नेतृत्वमा पुग्न आकाङ्क्षीको लामै लर्को देखिन्छ । जिल्लाध्यक्षका लागि हालका अध्यक्ष मैनाली र उपाध्यक्षमा प्रधानले आकाङ्क्षा व्यक्त गरेका छन् । दुईजनामध्येबाट सर्वसम्मत अध्यक्ष चयन हुने अवस्था नआएमा विकल्पका रूपमा नुवाकोट एमालेका संस्थापक नेता एवम् पूर्वजिल्ला कमिटीका दुई कार्यकाल नेतृत्व गरिसकेका नारायणप्रसाद खतिवडाको नाम पनि कार्यकर्तापङ्क्तिमा चर्चा हुने गरेको छ । उपाध्यक्षमा पनि सुदर्शन, रमेश बस्ती, घकुमार लामा, सुशील खड्का र राजेन्द्ररमण खनाल आकाङ्क्षी देखिएका छन् । जिल्ला कमिटीका अध्यक्षपछिको महत्वपूर्ण पद सचिवमा पनि आचार्य, शिवकुमार चित्रकार, श्रेष्ठ र अधिकारीले आकाङ्क्षा व्यक्त गरेका छन् । जिल्ला कमिटीका दुई उपसचिवमा पनि राजेन्द्रप्रसाद पाण्डे, सोनाम लामा, श्याम लामा, दुर्गा पुडासैनी, रूपा सापकोटा, तारा रिमाल, मंगलमाया प्रजापतिलगायत आकाङ्क्षी छन् । पार्टी केन्द्रीय कमिटीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन गरेको छ । केन्द्रको निर्देशनअनुसार सर्वसम्मत नेतृत्व चयनका लागि हदैसम्मको पहल गरिने तथा सर्वसम्मत हुने अवस्था नआएमा लोकतान्त्रिक पद्धतिबाट पदाधिकारी र नेतृत्व चयन गर्ने गरी तयारी भइरहेको केन्द्रीय सदस्य केशवराज पाण्डेले बताए । नुवाकोटबाट पाण्डेसहित बिन्दा ढुङ्गाना र उषाकिरण तिमल्सिना केन्द्रीय सदस्य छन् ।

अधिवेशनमा चयन भएर आएका प्रतिनिधिमा गाउँपालिका तारकेश्वरबाट १७, किस्पाङबाट १४, म्यागङबाट १२, सूर्यगढीबाट ३३, लिखुबाट ३५, पञ्चकन्याबाट २५, शिवपुरीबाट २६, दुप्चेश्वरबाट ३३, ककनीबाट ३८ र तादीबाट २९ तथा नगरपालिकामध्ये बेलकोटगढीबाट ९१ र विदुरबाट एक सय ३७ छन् । नेतृत्वमा पुग्नका लागि आकाङ्क्षीले विदुर र बेलकोटगढीबाट चयन भएका प्रतिनिधिसँग बाक्लो उठबस गर्नुपर्ने अवस्था छ ।