
धुन्चे, रसुवा जिल्लामा आयुर्वेद औषधालय र आयुर्वेद स्वास्थ्य केन्द्रले दिने सेवा जिल्लावासीका लागि प्रभावकारी बन्दै गइरहेको छ । पछिल्लो समय आयुर्वेदको सेवाप्रति विश्वास बढेकाले सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भइरहेको छ । आयुर्वेदप्रति जिल्लाका बालकदेखि वृद्धसम्म आकर्षित छन् ।
गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप थपिन थालेको छ । बाटो पर्दा मात्रै पस्ने स्थानीयवासी आजभोलि रोगै नलागे पनि स्वास्थ्य परामर्श लिने र बिरामी पर्दा पहिला आयुर्वेदिक औषधि खाऊँ भन्ने भावमा रहेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । केन्द्रका विशेषज्ञ चिकित्सक डा.अशोक झा आफैँ पूरा समय बिरामीका सेवामा खटिइरहेकाले पनि बिरामी बढेको बताइन्छ । आयुर्वेदिक धुलोमुलो औषधिका लागि मात्र केन्द्र पुग्ने र यसो निःशुल्क पाइने लगिदिऊँ न त भन्ने बालकदेखि वृद्ध सेवाग्राही अहिले यसको महत्व बुझेपछि स्वास्थ्य केन्द्र पुग्ने गरेको डा. सिर्जना मित्रकोटी बताउँछिन् । यही जेठ ६ गते ठूलो स्याफ्रुमा ज्येष्ठ नागरिकसहित ५० जनाको स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको डा. मित्रकोटीले बताइन् ।
जेठ ८ गते स्वास्थ्य केन्द्रमा ज्येष्ठ नागरिकसहित अन्य उमेर समूहलाई निःशुल्क जाँच गरी औषधि वितरण गरिएको थियो । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धुन्चेले आयोजना गरेको ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत निःशुल्क जाँच तथा औषधि वितरणबाट एक सयभन्दा बढी लाभान्वित भएका छन् । वार्षिक कार्यक्रमअनुसार केन्द्रले जिल्लाका विभिन्न स्थानमा स्थानीय तहसँग समन्वय गरेर बिरामी जाँच, परामर्श शिविर तथा निःशुल्क औषधि वितरण गरिरहेको केन्द्र प्रमुख डा. अशोककुमार झाले जानकारी दिए ।