काठमाडौं, मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० का लागि आवेदन आह्वान गरेको छ । फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले शुक्रबार एक सूचना जारी गर्दै पुरस्कारका लागि आवेदन माग गरेका हुन् । फाउन्डेसनले ०६८ सालदेखि निरन्तर सो पुरस्कार वितरण गर्दै आएको र ०८० को पुरस्कारका लागि आवेदन माग गरिएको फाउन्डेसनका सदस्य रामशरण प्याकुरेलले जानकारी दिए ।
प्याकुरेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीले पु¥याएको योगदानको
स्मरण गर्दै उनको विचार र मार्गदर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेका व्यक्ति तथा संस्थामध्येबाट पुरस्कृत गर्ने गरिएको बताए । फाउन्डेसनले ०७८ सालदेखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज रूपान्तरण र विकासमा नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति वा संस्थालाई ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’समेत प्रदान गर्दै आएको छ । भण्डारी पुरस्कार २०८० मा आवेदन दिन नेपालमा दर्ता भएर कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा रही, वार्षिक रूपमा कम्तीमा रु. ५० करोडबराबरको वार्षिक कारोबार गरी नेपाल सरकारलाई तिर्नुपर्ने करका दायित्व पूरा गरेको हुनुपर्नेछ । व्यक्ति वा संस्थाले आफ्नो सफलताको ट्रयाक रेकर्ड कायम गरेको हुनुपर्छ । उद्यम वा सञ्चालक कालोसूचीमा नपरेको र कुनै पनि भ्रष्टाचारजन्य कारबाहीमा नपरेको स्वघोषणा गरेको हुनुपर्नेछ ।
पुरस्कारका लागि उद्यमीले कामदार कर्मचारी भर्ना गर्दा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने अभिप्राय र पछाडि परेका क्षेत्र र समुदायमा बेरोजगारी दर घटाउन मद्दत पुग्ने गरी विशेष समुदाय वा क्षेत्रका नेपाली नागरिकलाई प्राथमिकता दिएको हुनुपर्ने उल्लेख गरिएको छ । स्थानीय कच्चा पदार्थको प्रयोग, नवप्रविधि, कृषि, पर्यटन, वातावरणीय परिवर्तन, सौर्य एवम् वैकल्पिक ऊर्जाजस्ता क्षेत्रमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका माध्यमबाट वैदेशिक मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको हुनुपर्नेछ ।
हालसम्मम मदन भण्डारी राष्ट्रिय पुरस्कारद्वारा सम्मानित हुनेमा मह जोडी काठमाडौं २०६८, डोरमणि पौडेल, मकवानपुर (सहिद पार्क निर्माण हेटौँडा) २०६९, महावीर पुन, काठमाडौं (आविष्कार केन्द्र) २०७१, डा. भगवान कोइराला, काठमाडौं (मुटुरोग विशेषज्ञ) २०७२, सीताराम कट्टेल/कुञ्जना घिमिरे, काठमाडौं (धुर्मुस–सुन्तली फाउसडेसन) २०७३, चित्रकार हरि शर्मा (चित्रकरिता) २०७४, प्राडा सुबोध शर्मा, काठमाडौं (पानीका स्रोत) २०७५, सुनिता सहकारी (नर्स)/बोमबहादुर गुरुङ एम्बुलेन्सचालक (कोभिड-१९ महामारीका अवधिमा विशिष्ट योगदान) २०७७, कृष्ण राई सोताङ, धरान, सुनसरी (अर्गानिक फार्मिङ) २०७८ र डा मिङ्मार गेल्जेन शेर्पा (सोलुखुम्बु स्वास्थ्य सेवामा कार्यरत) २०७९ छन् । मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारद्वारा सम्मानित संस्थामा शिक्षातर्फ २०७८ मा प्रेरणा महिला माध्यमिक विद्यालय, सातदोबाटो, ललितपुर र २०७९ मा व्यक्तितर्फ खेलकुद क्षेत्रका निरूकुमारी मगर हेटौँडा मकवानपुर छन् ।