
विदुर, धादिङ जिल्लाको गल्छीबाट पृथ्वी राजमार्ग थानकोट हुँदै काठमाडौं छिर्नुभन्दा नुवाकोटको पिपलटार–गँगटे–छहरे हुँदै टोखाबाट काठमाडौं छिर्ने धेरै छिटो र नजिक पर्ने भएकाले पाँच वर्षदेखि छहरे–टोखा सुरुङमार्गको चर्चा सुरु भयो । नुवाकोट जिल्लाको प्रतिनिधित्व गर्ने अर्थमन्त्री नहुँदा आगामी वर्षका बजेटमा राष्ट्रिय र चीन–नेपाल जोड्ने सडकको दूरी कम गर्ने महत्वपूर्ण सुरुङमार्ग निर्माणका लागि बजेट छुट्टिएन । चीन सरकारले यस वर्षदेखि विस्तृत सर्वेक्षणको काम सुरु गर्ने भने पनि आगामी आवका लागि सरकारले प्रस्तुत गरेको बजेटमा छहरे–टोखा सुरुङमार्गको नामसमेत उच्चारण भएन ।
गत ०७६ माघमा आएका चिनियाँ प्राविधिक टोलीले यसको प्रारम्भिक तहको अध्ययन गरेको थियो । २० जनाको चिनियाँ टोलीले एक महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गरेपछि यसको चर्चा चुलिएको हो । त्यसपछि हरेक वर्ष सुरुङमार्ग निर्माण गर्ने प्रस्तावसहित बजेटमा समावेश हुँदै आएको थियो । यसपटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले सुरुङमार्गलाई महत्व दिएन । सरकारले आगामी आवका लागि प्रस्ताव गरेको बजेटमा नामसमेत समावेश नगरेपछि थप अध्ययनको कामसमेत रोकिने भएको छ । चिनियाँ टोलीको प्रारम्भिक तहको अध्ययनको पाँच वर्ष हुँदा पनि थप केही प्रगति नभएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । चालू आवमा रु. एक अर्ब बजेट विनियोजन भएपछि तत्काल काम अगाडि नबढ्ने देखेपछि विभागले अन्यत्र काम भएको आयोजनाका लागि उक्त शीर्षकको बजेट रकमान्तर गरेको छ । नुवाकोटका डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा छुट्याएको उक्त बजेट डा. महत मन्त्रीबाट बाहिरिएपछि रकमान्तर भएको नेपाली काङ्ग्रेस नुवाकोटका सचिव वैकुण्ठ मिश्रले बताए । यसपटक जिल्लाका अर्थमन्त्री नहुँदा छहरे–टोखाको बजेटमा नामसमेत उल्लेख नभएको र जिल्लाको अर्को महत्वपूर्ण सडक गँगटे–लब्धु–समुन्द्रटार–गोल्फु भञ्ज्याङ सडकको बजेट कटौती भएको उनको भनाइ छ ।
नुवाकोटको सदरमुकामदेखि सिन्धुपाल्चोक जोडिने सडकका लागि आगामी आवको बजेटमा समावेश नहुनु दुःखद पक्ष रहेको काङ्ग्रेसका नेता तथा नुवाकोट, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने अर्जुननरसिंह केसीले जेठ २० गते प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोलेर सरकारको ध्यानाकर्षण गराए । ३३ वर्ष अगाडिदेखि सुरु भएको गँगटे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडकखण्ड निर्माण गर्न चालू आवको बजेटमा परेर बहुवर्षीय ठेक्काका रूपमा अघि बढिरहेको आयोजनाका लागि आगामी आवका लागि बजेट विनियोजन नभएको गुनासोसमेत सांसद केसीले गरेका छन् । निवर्तमान अर्थमन्त्रीसमेत रहेका प्रतिनिधिसभा, समानुपातिकतर्फबाट निर्वाचित डा. महतले नुवाकोटको मात्र नभएर काठमाडौं र केरुङको दूरी छोटो पार्ने सो छहरे–टोखा सुरुङमार्गप्रति सरकारले हेलचेक्य्राइँ गरेको, प्रतिशोध साँधेको र पूर्वग्राही बनेको बताए । नुवाकोट, प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनमा उठ्ने तयारी गरिरहेका डा. महतले छहरे–टोखा सुरुङमार्ग र गँगटे–गोल्फुभञ्ज्याङ सडकका लागि आगामी आवका लागि बजेट विनियोजन नभएपछि सरकारप्रति आक्रामक ढङ्गले लागिरहेका छन् ।
विगतमा गँगटे–गोल्फुभञ्ज्याङ सडक र छहरे–टोखा सुरुङमार्गका लागि हामीले बजेट छुट्याएको भनी प्रचारप्रसार गर्ने माओवादी केन्द्रका तर्फबाट निर्वाचित जनप्रतिनिधि यसपटक चुप छन् । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्दै दाहाल नेतृत्व सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले समेत बजेट नछुट्याएको विषयमा नबोलेको आरोप काङ्ग्रेसका नेताले लगाएका छन् । मन्त्री तामाङ विगतमा यस क्षेत्रमा आफ्नै पहलमा सुरुङमार्ग र सडकका लागि बजेट विनियोजन गरेको भनेर सार्वजनिक मञ्चमै गर्व गर्थे । काठमाडडौंको टोखा र नुवाकोटको शिवपुरी गाउँपालिका, छहरे जोड्ने चार किलोमिटर हाराहारीमा सुरुङमार्ग निर्माण गर्ने गरी चीन सरकारको सहयोगबाट सर्भे हुने सहमति भएको छ । सुरुङ निर्माण गर्न चिनियाँ सरकारको सहयोगका लागि अन्तिम चरणको वार्तासमेत भइरहेको सडक विभागले जनाएको छ । सुरुङ निर्माण पनि छिट्टै अघि बढ्ने अपेक्षा भए पनि बजेट नै नछुट्टिएपछि सुरुङमार्ग चर्चामै सीमित हुने भएको छ ।