
विदुर, नेकपा (एमाले) नुवाकोटको आठौँ जिल्ला अधिवेशन मंगलबारदेखि सुरु भएको छ । अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने भएकाले नेता र कार्यकर्ता समूह–समूहमा विभाजित भएर नेतृत्व कब्जा गर्न सक्रिय छन् । पार्टीका वर्तमान जिल्ला अध्यक्ष बद्रीप्रसाद मैनाली र उपाध्यक्ष बुद्धिबहादुर प्रधान अध्यक्ष हुनका लागि समूह बनाएर विशेष तयारीमा लागेका छन् ।
जिल्ला अधिवेशनको लिखु गाउँपालिका, ढिकुरेमा मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटनका लागि पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने प्रचार गरिएको थियो । जिल्ला अध्यक्ष मैनालीको सभापतित्वमा सम्पन्न खुलासत्रमा पार्टी उपमहासचिव विष्णुप्रसाद रिमाल, बागमती प्रदेश कमिटीका इन्चार्ज एवम् स्थायी कमिटी सदस्य गुरुप्रसाद बराल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पूर्वपरराष्ट्रमन्त्री एवम् नुवाकोट एमालेका अभिभावक महेन्द्रबहादुर पाण्डे, पोलिटब्युरो सदस्य तथा नुवाकोट इन्चार्ज अरुणप्रसाद नेपाल, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललगायतले सम्बोधन गरेका थिए । बुधबारदेखि अधिवेशनको बन्दसत्र बाजेको सेकुवा बट्टारमा सञ्चालन भइरहेको उपसचिव नीलकण्ठ आचार्यले जानकारी दिए । बन्दसत्रमा राजनीतिक, आर्थिक र साङ्गठनिक प्रस्तावमा छलफल भई पारित गरिनेसमेत उनले जानकारी दिएका छन् । बुधबार, बिहीबार बन्दसत्रमा पार्टीको भावी नीति तथा कार्यक्रम पारित गरेर नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने जिल्ला पार्टी सचिव सुदर्शन नेपालले जानकारी दिए । विधानअनुसार एक सय पाँच पदाधिकारीसहित जिल्ला कार्यसमिति चयन हुनेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवससहित चयन गर्नका लागि ८८ वडा कमिटीबाट पाँच सय ४३ प्रतिनिधि चयन भएका छन् । पदाधिकारीसहित जिल्ला कमिटी सर्वसम्मत चयन गर्ने कसरतमा जिल्लाका केन्द्रीय सदस्य केशवराज पाण्डे, बिन्दा ढुङ्गाना, उषाकिरण तिमिल्सिना र प्रदेश कमिटीका नेता लागिपरेका छन् । नेतृत्व सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट जिल्ला कार्यसमिति चयन गरिने बागमती प्रदेश कमिटीका सदस्य सञ्जु पण्डितले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिए ।
झन्डै एक वर्ष अवधि छँदै जिल्ला अधिवेशनमा एमाले नुवाकोट होमिएको हो । पछिल्लो समय विभिन्न समूह, उपसमूहमा विभाजित हुँदै गएको एमालेमा अहिले नेता तथा कार्यकर्ता आ–आफ्ना समूहका नेता तथा कार्यकर्तालाई पार्टीमा निर्वाचित गराउने योजनामा केन्द्रदेखि प्रदेश कमिटीका नेता लागिपरेका छन् । आठौँ अधिवेशनमा पार्टीका वर्तमान अध्यक्ष मैनाली र वर्तमान उपाध्यक्ष प्रधान अध्यक्षमा भिड्ने पक्कापक्की देखिएको छ । तीनवर्षे कार्यकालका रूपमा निर्वाचित जिल्ला अध्यक्ष मैनाली दुई वर्षमै जिल्ला अधिवेशन गर्नुपर्ने भएपछि एक कार्यकाल अध्यक्ष दोहो¥याउने योजनामा छन् । छोटो कार्यकाल भएको र पार्टीका लागि आफ्नो योजनाअनुसारको काम गर्न नपाएकाले उनी दोहोरिने योजनामा छन् भने वर्तमान उपाध्यक्ष प्रधान पनि यसपटक त अध्यक्षमा भिड्ने योजनामा छन् । सातौँ जिल्ला अधिवेशनमा अध्यक्षमा दाबी पेस गरेका प्रधान अन्ततः उपाध्यक्षमा चित्त बुझाउन बाध्य भएका थिए । सातौँ अधिवेशनमा अध्यक्ष छाडेर उपाध्यक्षमा बस्न र अर्कोपटक अध्यक्षमा सघाउने मैनाली, एमालेका अभिभावक नेता पाण्डे, तत्कालीन बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेलगायतको आग्रहअनुसार आफू उपाध्यक्षमा बसेकाले यसपटक अध्यक्षबाट पछि नहट्ने प्रधानले बताएका छन् ।
जिल्लामा अधिवेशन प्रतिनिधि चयनमा मैनाली र प्रधान दुवैले आ–आफ्ना पक्षका प्रतिनिधि ल्याउनका लागि सक्रियता जनाएका थिए । अध्यक्षमा दुवै मुख्य प्रतिस्पर्धी ठानिएको छ । अध्यक्षमा अन्य पनि आकाङ्क्षी देखिए पनि सतहमा मैनाली र प्रधान नै मुख्य देखिएको कार्यकर्ताको भनाइ छ । मैनालीले एक कार्यकाल दोहोरिने योजना बनाइरहँदा प्रधानले भने वर्तमान अध्यक्ष प्रदेश सभा सदस्य भएर राज्यमन्त्री भइसकेको र सङ्घमा चुनावी उम्मेदवारसमेत बनिसकेकाले मैनालीको माथि राजनीतिक अवसरको धेरै ढोका खुला रहेको र आफ्ना लागि भने जिल्ला अध्यक्षभन्दा माथि तत्काल जान सक्ने अवस्था नरहेकाले पनि अध्यक्ष पद नछाड्ने बताउँदै आएका छन् । अध्यक्षपछिका पदाधिकारीमा आकाङ्क्षीको सङ्ख्या उल्लेख्य रहेकाले आफ्ना निकट नेतृत्वसमक्ष पदका लागि हारगुहार चलिरहेको छ ।