
ढुङ्गे, नुवाकोटको विदुर नगरपालिका–१ मा ११ वर्षअघि स्थापना भएको माता मनकामना बचत तथा ऋण सहकारी संस्था लि. ढुङ्गेले ११औँ वार्षिकोत्सवको अवसरमा सञ्चालक एवम् सेयर सदस्यलाई सहकारी शिक्षा प्रशिक्षण तथा ज्येष्ठ नागरिक दुईजना र एकल महिला दुईजनालाई शनिबार सम्मान गरेको छ ।
सहकारीका अध्यक्ष नवीनकृष्ण राजभण्डारीको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले चारजना सेयर सदस्यलाई सम्मान गरेका थिए । सम्मानित हुनेमा ज्येष्ठ नागरिक एवम् ज्येष्ठ सयर सदस्य विष्णुप्रसाद लम्साल र रामकृष्ण राजभण्डारी, एकल महिला सीता केसी र रूपा शाह रहेका छन् । सहकारीका सञ्चालक समितिले पाउने १० वर्षसम्मको बैठकभत्ता सङ्कलन गरी खडा गरेको अक्षयकोषबाट वार्षिक भत्ता दिने सञ्चालक समितिको निर्णयअनुसार चारजनालाई सम्मानसहित भत्ता दिइएको हो । सहकारीले खडा गरेको अक्षयकोषको व्याजबाट ७० वर्ष माथिका ज्येष्ठ नागरिक दुईजना र एकल महिला दुईजनालाई आजीवन भत्ता हरेक वर्ष प्रदान गर्ने अध्यक्ष राजभण्डारीले बताए । सो कार्यक्रममा विदुर नगरपालिका–१ का अध्यक्ष लेलिन रञ्जित, जिल्ला सहकारी सङ्घका प्रतिनिधि नवीन्द्रमान प्रधान, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष एवम् सहकारीविज्ञ नारायण श्रेष्ठ, विदुर नगरपालिका सहकारी शाखाका प्रमुख नानीमैया नेपालको उपस्थिति रहेको थियो ।