आधारभूत मौरीपालन तालिम सम्पन्न

  • त्रिशूली प्रवाह
  • २४ जेष्ठ २०८१, बिहीबार १२:२६

सामरी, उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आर्थिक सहयोग र म्यागङ गाउँपालिकाको समन्वयमा सामरीमा सुरु भएको पाँचदिने आधारभूत मौरीपालन तालिम मंगलबार सम्पन्न भएको छ ।

जेठ १७ गतेदेखि सुरु भएको तालिममा २९ जना सहभागी रहेको नेपाल मौरीपालक महासङ्घ नुवाकोटका अध्यक्ष एवम् आधुनिक मौरी फार्म तथा घार उद्योगका प्रोपाइटर तालिमका प्रशिक्षक भीमप्रसाद अधिकारीले जानकारी दिए । म्यागङ गाउँपालिका-५ सामरीमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै व्यवसायी बन्न सुझाव दिइन् । तालिम समापन कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख किशोर सापकोटाको सभापतित्वमा भएको थियो । उनले स्थानीय क्षेत्रमा मह उत्पादन बढाउन र रोजगारीको अवसर सिर्जना गर्न मौरीपालन तालिम सञ्चालन गरेको बताए । सामरी क्षेत्रमा मौरीपालनका लागि उपयुक्त हावापानी रहेकोसमेत दाबी गरे ।