महोत्सवको १३ लाख बचत

  • त्रिशूली प्रवाह
  • २४ जेष्ठ २०८१, बिहीबार १२:४९

विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ २६ देखि फागुन ७ गतेसम्म सदरमुकाम विदुरमा सम्पन्न महोत्सवको आय–व्यय शुक्रबार सार्वजनिक भएको छ । खर्च कटाएर महोत्सवबाट सङ्घलाई रु. १३ लाख बचत भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको महोत्सव यसअघिका सात महोत्सवभन्दा यो विशेष रूपले सफल भएको सङ्घले पत्रकार सम्मेलनमा जिकिर गरेको छ । सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले दुई सय ५० कक्ष रहेको महोत्सवबाट आम्दानी गर्नेभन्दा पनि आर्थिक मन्दीले सुस्त रहेको व्यापार, व्यवसाय चलायमान गराउने उद्देश्य राखिएकाले बढीभन्दा बढी जिल्लावासीलाई महोत्सव अवलोकन गराइएको बताए । महोत्सवमा वृद्धवृद्धालाई निःशुल्क पास, विद्यार्थीलाई ५० प्रतिशत र सङ्घमा आबद्ध व्यवसायीलाई टिकटमा २० प्रतिशत छुटलगायत स्थानीय लघु तथा घरेलु उद्योगीलाई प्रदर्शनी गर्न ५० स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले दिए ।

महोत्सवको खर्च कटाएर सङ्घलाई रु. १३ लाख दुई हजार सात सय ८० बचत हुन आएको छ । बचत रकममध्येबाट नागरिक सहायता कक्ष निर्माण गर्न रु. एक लाख र नेपाल रेडक्रस नुवाकोटले स्थापना गरेको रक्तसञ्चार सेवा कोषमा रु. एक लाख नगद सहयोग गरेको सङ्घका कोषाध्यक्ष मेघनाथ घिमिरेले बताए । महोत्सवमा विभिन्न शीर्षकमा रु. ९९ लाख ५४ हजार ६ सय २६ आम्दानी गरेकामा रु.८५ लाख ७४ हजार चार सय ६२ खर्च भएको र सरकारलाई रु. ७७ हजार तीन सय ८४ विभिन्न शीर्षकमा कर दाखिला गरिएको जनाइएको छ ।