तरबुजा फस्टाउँदा हिउँदे धान विस्थापित

  • त्रिशूली प्रवाह
  • २४ जेष्ठ २०८१, बिहीबार १३:०२

चौघडा, नुवाकोटको धान उत्पादन पकेट क्षेत्र पञ्चकन्या–२ का बानियाँटार, सहरेटार, सिमरा फाँटमा तरबुजा खेती फस्टाउन थालेपछि हिउँदे धान खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएको छ । धानभन्दा तरबुजा खेतीको आम्दानी चार गुणा बढी हुने भएपछि यस क्षेत्रका कृषक तरबुजा खेतीतर्फ आकर्षित भएका हुन् ।

सिँचाइको पर्याप्त सुविधा रहेको ती टार र फाँटमा हिउँदे धानको खेती गर्नेको सङ्ख्या घट्दो छ । गाउँकै इन्द्रायणी माविमा प्राविधिक धारमा कक्षा ९ देखि पढाइ सुरु भएसँगै यस क्षेत्रका कृषकलाई विद्यालयले आवश्यक परामर्श र खेती गर्दाको लागत र फाइदा÷बेफाइदाको लेखाजोखा गर्न सिकाइरहेका छन् । पछिल्ला केही वर्षदेखि धानभन्दा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी हुने देखेर स्थानीय कृषकले धान खेतीको विकल्प रोजेका हुन् । गाउँमै खुलेको प्राविधिक विद्यालयमै निःशुल्क माटो परीक्षण, प्राविधिक परामर्शका साथै बेमौसमी फलफूलको बिरुवा उपलब्ध हुन थालेपछि खेती गर्न जोस र जाँगर थपिएको स्थानीय कृषक रामप्रसाद लामिछानेले बताए । विद्यालयले यस क्षेत्रका कृषकलाई सहयोग गरेकाले बेमौसमी खेतीबाट राम्रो उत्पादन गरी मनग्य आम्दानी लिइरहेकोसमेत उनले जिकिर गरे । यस वर्ष यस क्षेत्रका एक सय ५० परिवारले तरबुजा खेती गरेको बताइएको छ । यस भेगमा जेठदेखि उत्पादन भएको तरबुजा बिक्रीबाट दैनिक रु. डेढ लाखभन्दा बढी आम्दानी भइरहेको प्रधानाध्यापक कुमार पाठकले बताए । यस वर्ष कृषक, विद्यालय र मंकालेश्वर सहकारी संस्थाले पञ्चकन्या–१ को रु. एक लाख सहयोगमा एक लाख २० हजार तरबुजाका बिरुवा उत्पादन गरी वितरण गरेका थिए । राम्रो उत्पादन भएको तथा बिक्री–वितरण पनि सहज भइरहेकाले यस वर्ष अनुमानित रु. तीन करोडको तरबुजा बिक्रीबाट आम्दानी हुनेसमेत प्रधानाध्यापक पाठकले जिकिर गरे ।

गाउँपालिकाको सहयोगमा तीन वर्षदेखि तरबुजा खेतीले व्यावसायिक रूप लिन सफल भएपछि यस क्षेत्रमा हिउँदे धान खेती विस्थापन भएको छ । हिउँदे आलु खनेर फागुनमा रोपिएको तरबुजाले जेठदेखि फल उत्पादन दिने गरेको छ । यस भेगमा नवकिरण, किरण, मस्तना, लाली, लक्ष्मी, आरोही, सरस्वती, भिसल्ला जातका तरबुजा खेती भइरहेको स्थानीय कृषक विवेक राईले बताए । विषादी र रासायनिक मल प्रयोग नगरी उत्पादित तरबुजा स्वादिलो, ताजा र सस्तोमा घर–घर पु¥याउन थालेपछि जिल्लामा विषादी प्रयोग गरिएको बासी तरबुजा तराई र भारतदेखि विगतमा ल्याउने गरेको भए पनि अहिले निषेध जस्तो भएको छ । गर्मी बढ्दै गएकाले दैनिक खरबुजाको बिक्रीसमेत बढिरहेको कृषक राईले बताए । विवेकसँगै दीपक राई, रामकुमार राई बलेरो जिप भाडामा लिएर आफ्नो र गाउँलेको तरबुजा बिक्री गर्न बिहानदेखि ढिकुरे, छहरे, देवीघाट, रातमाटे, गल्छी, बट्टार, विदुर, त्रिशूली, सामरी, बेत्रावतीसम्म डुल्ने गरेका छन् । तौलिने ढक, तराजु बोकेर गाडीमा डुलाइडुलाई दैनिक दुई बोलेरो गाडीमा तरबुजा बिक्री गर्दा रु. ५०–६० हजार खर्च कटाएर आम्दानी हुने गरेको उनीहरूले बताए ।

तीबाहेक कविलासफाँट, चौघडामा पनि तरबुजा खेती फस्टाएको ग्रामीण स्वावलम्बन विकास केन्द्रले बताएको छ । केन्द्रले आफ्नो परियोजनामा कृषकको आयमूलक कार्यको सुरुवात गरेको थियो । इन्द्रायणी मावि र केन्द्र तथा कृषकको टनेलबाट उत्पादन भएको तरबुजाको बिरुवा जिल्लाभरि सिजनमा वितरण हुने गरेको छ । कृषकले उत्पादन गरेको तरबुजाको बजार व्यवस्थापनमा मंकालेश्वरी कृषि सहकारीले सहयोगी भूमिका निर्वाह गरिरहेको छ । मस्तना जातको तरबुजा खेती यस क्षेत्रमा फस्टाएको कृषक उत्तम पाठकले बताए । उत्पादित तरबुजा काठमाडौंसम्म ढुवानीमा सहयोग हुने हो भने यस क्षेत्रका कृषकले वार्षिक रु. पाँच करोड नगद भित्र्याउन सक्ने १ नम्बर वडाध्यक्ष महानन्द ढकालले बताए । कृषकले उत्पादन गरेको तरबुजालाई सरकारी निकायले खरिद गरेर बिक्रीको जिम्मा लिइदिनुपर्नेसमेत उनको धारणा छ । कृषि कार्यालयले यस क्षेत्रलाई धानको पकेट क्षेत्र घोषणा गरेर करोडौँ बजेट खर्च गरिरहे पनि कृषकले त्यसबाट राम्रो फाइदा लिन नसकेको गुनासो बढिरहेको छ ।