
काठमाडौं, नुवाकोट जिल्ला, विदुर-८ बगुवामा जन्मिएका, हुर्केका पत्रकार तथा साहित्यकार श्याम रिमालको कवितासङ्ग्रह ‘चमेरो : कोरोना कविता’ शुक्रबार सार्वजनिक भएको छ । तीन वर्षअघि कोरोना महामारीका समयलाई समेटेर उनले दस्तावेजका रूपमा कवितासङ्ग्रह प्रकाशन गरेका हुन् । ‘त्रिशूली प्रवाह’ साप्ताहिकबाट प्रकाशित सङ्ग्रहमा कोरोना भाइरस महामारीसँग सम्बन्धित २९ कविता सङ्ग्रहित छन् । यसअघि रिमालका ‘एउटा काँढा बिझ्दा’ (गीतसङ्ग्रह) तथा ‘त्रिशूलीको किनाराबाट’, ‘बारपाक’ (कम्प काव्य) र ‘नदी बग्दैन’ कवितासङ्ग्रह प्रकाशित छन् ।
क्रान्तिकारी राजनीतिज्ञ, समाज जागरणकर्ता, कवि, नाटककार तथा साहित्यिक पत्रकार गोपालप्रसाद रिमालको १०७औँँ जन्मजयन्तीका अवसरमा उनको विमोचित कवितासङ्ग्रहमाथि समीक्षा गर्दै कवि तथा समालोचक दीपेन्द्र अधिकारीले रिमालका कविता कुनै छन्द, विम्ब र प्रतप्कमा नबाँधिएर सामान्य जनजीवनमा आउने भावनाको सरल सिर्जना भएको तथा पढ्दा र बुझ्दा रमाइलो लाग्ने बताए । ‘चमेरो…’का स्रष्टा रिमालले आफूले पहिले पनि भूकम्प प्राकृतिक प्रकोपका बेला समयलाई फुत्कन नदिन ‘बारपाक’ कम्पकाव्य प्रकाशन गरेको जानकारी दिँदै विमोचित कृतिमा भूकम्पका मनोवैज्ञानिक–आर्थिक–सामाजिक–राजनीतिक, कूटनीतिक प्रभावलाई काव्यको रूप दिइएको जानकारी दिए । कृतिमा चिनियाँ प्राध्यापक वाङ चुङ, साहित्यकार श्यामल, रवीन्द्र समीर र कवि तथा समालोचक दीपेन्द्र अधिकारीका भूमिका छन् ।
‘शृङ्खला’ साहित्यिक मासिक पत्रिका र ‘गोपालप्रसाद रिमाल काव्यमिलन’ फेसबुक ग्रुपले आयोजना गरेको कार्यक्रमको दोस्रो चरणमा इलामे जेठो, कृष्णमोहन जोशी, कृष्ण बाउसे, दिव्य गिरी, धर्तीचन्द्र यात्री, तीर्थ भट्टराई, राममणि सिटौला, अमर आकाश, प्रमोद स्नेही, गोपालकुमार मैनाली, लालबहादुर भुजेल, जगत् वाशिष्ठ र टेकेन्द्र थापाले आ–आफ्ना कविता र कवि तथा पत्रकार श्यामराज पाठकले विमोचित कृतिका दुई कविता (‘चमेरो’ र ‘सभ्यताको मृत्यु’) वाचन गरे ।
‘शृङ्खला’ साप्ताहिक मासिक पत्रिकाका प्रकाशक एवम् संस्थापक सम्पादक प्रवीण जोशी, पत्रिकाका सहयोगी सम्पादक शिव श्रेष्ठ, रिमाल समाजका महासचिव रवि रिमाल र काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय भृकुटीमण्डपका पुस्तकालय व्यवस्थापक लीलाप्रसाद भट्टराईले राजनीतिज्ञ एवम् साहित्यकार रिमालको क्रान्तिकारी व्यक्तित्वबारे चर्चा गरेका थिए ।