
विदुर, विगत लामो समयदेखि पानीको महसुल नतिर्ने सदस्यको खानेपानी लाइनको धारा काट्ने तयारी विदुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था नुवाकोटले गरेको छ ।
धारा जडान गरेर नियमित पानी उपभोग गर्दै आएका सदस्यलाई खानेपानीको महसुल बुझाउन पटक–पटक जानकारी र पत्राचार गर्दासमेत आनाकानी गरेपछि बाध्य भएर कठोर निर्णय लिनुपरेको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले जानकारी दिए । संस्थाका कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले बताएअनुसार विगत वर्षदेखि सदस्यले पानीको महसुल नबुझाउँदा करिब एक करोडभन्दा बढी रकम उठ्न बाँकी रहेको छ । ‘धारा जडानको खर्च र नियमित मासिक पानीको महसुल रकम नतिर्नेमा १७ सयभन्दा बढी ग्राहक सदस्य रहेका छन्,’ उनले भने, ‘मौखिक र पत्रबाट पत्राचार गर्दा पनि महसुल तिर्न अटेर गरेपछि सार्वजनिक सूचना प्रकाशन गरेका छौँ ।’ सूचनामा भनिएको छ, ‘तेस्रो सहरी खानेपानी आयोजना सञ्चालनमा लिइएको रकमबाट धारा जडान गर्न केही उपभोक्ता नआएको र रकम मात्र तिरी बसेकाले धारा जडान गर्न आवश्यक छ–छैन यथाशीघ्र संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । साथै, सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्रमा सम्पर्क गर्न नआएमा धारा जडान आवश्यक नपर्ने बुझिने हुँदा आफूले जम्मा गरेको रकम फिर्ता लैजान संस्थाबाट दिइएको सक्कल रसिद वा कुनै प्रमाण लिई आउनुहुन सम्पूर्ण उपभोक्ता सदस्यलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
संस्थाले टोलस्तरीय खानेपानी सुरक्षा एवम् सरसफाइ समूह गठन कार्ययोजना अगाडि बढाएको छ । संस्थाले आफ्ना सेवा क्षेत्रभित्रका इनारपाटी, डिहीगाउँ, चारघरे, धैबुङटोल, मर्चले, बान्द्रेलगायतका स्थानमा टोलस्तरीय खानेपानी सुरक्षा एवम् सरसफाइ समूह गठन गरेको छ ।